काठमाडौं महानगरपालिका वडा नं. ७ कार्यालयले अविरल वर्षाका कारण उत्पन्न हुन सक्ने बाढी, पहिरो तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै वडा क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
वडा कार्यालयले जारी गरेको सूचनामा जल तथा मौसम विज्ञान विभागको वर्षा पूर्वानुमानका आधारमा असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको उल्लेख गरिएको छ। सोही अवस्थालाई मध्यनजर गर्दै वडा विपद् व्यवस्थापन समितिको बैठकबाट आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन अनुरोध गरिएको हो।
सूचनाअनुसार प्रत्येक टोलमा टोलस्तरीय विपद् व्यवस्थापन समितिको बैठक बसी सम्भावित जोखिमको अवस्था, सुरक्षित स्थान तथा आवश्यक पूर्वतयारीका विषयमा छलफल गर्न आग्रह गरिएको छ। साथै जल तथा मौसम विज्ञान विभाग र काठमाडौं महानगरपालिकाको आधिकारिक सूचना तथा मौसम पूर्वानुमानलाई नियमित रूपमा पालना गर्न पनि अनुरोध गरिएको छ।
वडा कार्यालयले नदी, खोला तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, मौसमसम्बन्धी सूचना आवश्यक परेमा जल तथा मौसम विज्ञान विभागको टोल–फ्री नम्बर ११५५ मा सम्पर्क गर्न तथा विपद् सम्बन्धी सूचना र सहयोगका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोल–फ्री नम्बर ११४९ मा सम्पर्क गर्न आग्रह गरेको छ।
त्यस्तै आपत्कालीन अवस्थाका लागि नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४, काठमाडौं महानगरपालिकाको कल सेन्टर तथा महानगर प्रहरी बलसँग पनि सम्पर्क गर्न सकिने जनाइएको छ।
वडा अध्यक्ष विमल कुमार होडा द्वारा हस्ताक्षरित सूचनामा वडा कार्यालय, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय तथा सम्बन्धित संघ–संस्थाबीच आवश्यक समन्वय गरी सम्भावित विपद्को सामना गर्न सबैलाई तयारी अवस्थामा रहन अनुरोध गरिएको छ।











