२०८३, २१ भदौ आइतबार | Sun Sep 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा लिखु गाउँपालिकाका वडा नं. ४ र ५ को एकीकृत सेवा शिविर सम्पन्न, तीन दिनमा ३ सयभन्दा बढीले लिए सेवा



ओखलढुंगाको लिखु गाउँपालिका वडा नं. ४ र वडा नं. ५ को संयुक्त आयोजनामा काठमाडौंको पूर्व अर्निको बसपार्क, जडीबुटीमा सञ्चालन गरिएको तीनदिने एकीकृत सेवा शिविर सम्पन्न भएको छ।

काठमाडौं उपत्यकामा बसोबास गर्ने लिखु गाउँपालिकावासी नागरिकलाई गाउँसम्म पुग्नुपर्ने बाध्यता हटाउँदै स्थानीय तहबाट प्रदान गरिने सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको थियो।

भदौ १९ र २० गते सञ्चालन गर्ने गरी तय गरिएको शिविरमा सेवाग्राहीको अत्यधिक चाप देखिएपछि थप एक दिन सञ्चालन गरी भदौ २१ गतेसम्म सेवा प्रदान गरिएको थियो।

शिविरमार्फत सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, व्यक्तिगत घटना दर्ता तथा अभिलेखसम्बन्धी सेवा, मालपोत तथा भूमि कर संकलन तथा वडा कार्यालयबाट प्रदान गरिने अन्य विभिन्न सेवाहरू एकै स्थानबाट उपलब्ध गराइएको थियो। साथै, लिखु गाउँपालिकाका ९ वटै वडाका सूचीमा रहेका नागरिकलाई राष्ट्रिय परिचयपत्रसमेत वितरण गरिएको थियो।

लिखु गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष मोहन कार्कीले काठमाडौंमा बसोबास गर्ने गाउँपालिकावासी नागरिकलाई स्थानीय सरकारका सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको जानकारी दिए।

शिविरमा विभिन्न सेवाअन्तर्गत उल्लेख्य सहभागिता रहेको थियो। प्राप्त विवरणअनुसार १९८ जनाले नवीकरणसम्बन्धी सेवा, ३ जनाले बसाइँसराइ सेवा, १६ वटा विवाह दर्ता, ४० वटा जन्मदर्ता, १ वटा मृत्यु दर्ता, १ वटा सम्बन्धविच्छेद दर्ता, १८ वटा नागरिकता सिफारिस तथा ३६ वटा अन्य सिफारिस सेवा प्राप्त गरेका छन्।

त्यसैगरी, गाउँपालिकाभरिका १५२ जना नागरिकले राष्ट्रिय परिचयपत्र लिएका थिए

काठमाडौंमै गाउँपालिकाको सेवा प्राप्त गर्न पाएकोमा सेवाग्राहीहरूले गाउँपालिका तथा सम्बन्धित वडा कार्यालयप्रति धन्यवाद व्यक्त गरेका छन्। उनीहरूले आगामी दिनमा समेत यस्ता एकीकृत सेवा शिविरलाई निरन्तरता दिन आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८३, २१ भदौ आइतबार ००:००  ५ : २५ बजे