काठमाडौं महानगरपालिका वडा नं. ७ ले वर्षायाममा हुन सक्ने जलनिकास समस्या न्यूनीकरण गर्ने उद्देश्यले भित्री ढलका म्यानहोल हरूको विशेष सरसफाइ अभियान सञ्चालन गरेको छ। अभियानअन्तर्गत ढलभित्र वर्षौंदेखि जमेको माटो, लेदो तथा अन्य फोहोर निकाल्ने कार्य तीव्र रूपमा भइरहेको छ।
वडाका अनुसार ढलभित्र जमेको लेदो र फोहोर समयमै सफा नगरिए सडक भासिने, म्यानहोल क्षतिग्रस्त हुने, पानी निकास अवरुद्ध हुने तथा बाढीजन्य समस्या बढ्ने जोखिम रहन्छ। त्यसैले यस्ता सरसफाइका कार्य नियमित रूपमा सञ्चालन हुन आवश्यक रहेको जनाइएको छ।
वडा कार्यालयले वर्षाको पानी (आकाशे पानी) बग्ने ढलमा घरका सेफ्टी ट्याङ्कीको फोहोर सिधै जोड्ने प्रवृत्ति अत्यन्त हानिकारक भएको उल्लेख गरेको छ। यसले नदी तथा खोला प्रदूषित हुनुका साथै जमिनमुनिको पानीको प्राकृतिक पुनर्भरणमा असर पुग्ने, भूजलको सतह घट्ने र दीर्घकालमा जमिन भासिने जोखिमसमेत बढाउने चेतावनी दिएको छ।
वडा नं. ७ ले वर्षाको पानी संकलन गरी पुनः प्रयोग गर्ने (Rainwater Harvesting) वा उपयुक्त प्रविधिमार्फत जमिनमुनि पुनर्भरण गर्ने प्रणाली प्रत्येक घरमा जडान गर्न उपत्यकावासीलाई आग्रह गरेको छ। यसबाट भूजल संरक्षण, वातावरणीय सन्तुलन कायम राख्न तथा भविष्यमा हुन सक्ने जलसंकट र जमिन भासिने जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
वडाले स्वच्छ, सुरक्षित र दिगो शहरी वातावरण निर्माणका लागि ढल व्यवस्थापनमा सबै नागरिकको सचेत सहभागिता आवश्यक रहेको भन्दै वातावरणमैत्री अभ्यास अपनाउन सबैमा अनुरोध गरेको छ।











