काठमाडौं। धमला सेवा समाजले पत्रकार नवीन धमलालाई सम्मान गरेको छ। समाजको वंशावली निर्माण तथा संस्थागत अभिलेखीकरणमा प्राविधिक सहयोग पुर्याउँदै महत्वपूर्ण भूमिका निर्वाह गरेको कदरस्वरूप उहाँलाई सम्मानपत्र प्रदान गरिएको हो।
धमला सेवा समाजको केन्द्रीय कार्यालय काठमाडौं–३२ को आयोजनामा भक्तपुरस्थित दशरथ धमलाको निवासमा आयोजित देउसीभैलो कार्यक्रम तथा समाजको १२औँ साधारण सभाको अवसरमा पत्रकार धमलालाई सम्मान गरिएको थियो।

धमला समुदायको इतिहास, पुर्ख्यौली सम्बन्ध, पारिवारिक विवरण तथा सांस्कृतिक पहिचानलाई अभिलेखबद्ध गर्दै भावी पुस्तासम्म सुरक्षित राख्ने उद्देश्यले अघि बढाइएको वंशावली निर्माण अभियानमा पत्रकार धमलाले प्राविधिक सहयोग पुर्याउँदै आउनु भएको छ ।
वंशावली निर्माणलाई व्यवस्थित, प्रविधिमैत्री र दीर्घकालीन रूपमा सुरक्षित राख्न उहाँले निर्वाह गरेको भूमिकाको मूल्याङ्कन गर्दै समाजले सम्मान गरेको जनाएको छ। वंशावली केवल पुर्खाहरूको नाम र पारिवारिक विवरणको संकलन मात्र नभई समुदायको इतिहास, पहिचान र पुस्तान्तरणसँग जोडिएको महत्वपूर्ण दस्तावेजसमेत हो।
सम्मान ग्रहणपछि पत्रकार धमलाले समाजले प्रदान गरेको सम्मानप्रति आभार व्यक्त गर्नु भयो । उहाँले यस सम्मानले सामाजिक तथा रचनात्मक कार्यमा थप जिम्मेवारीबोध र प्रेरणा मिलेको बताउँदै आगामी दिनमा पनि आफ्नो ज्ञान, सीप र प्राविधिक क्षमताले भ्याएसम्म समाजको इतिहास, संस्कृति र पहिचान संरक्षण अभियानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।
उहाँले प्रविधिको प्रयोग व्यावसायिक प्रयोजनमा मात्र सीमित नराखी समाजको इतिहास, मौलिकता र पहिचानलाई सुरक्षित गर्दै नयाँ पुस्तासम्म पुर्याउन उपयोग गर्नुपर्ने धारणा राख्नु भयो ।
समाजको वंशावली निर्माण अभियानमा पत्रकारिता, सूचना प्रविधि र प्राविधिक दक्षताको उपयोगमार्फत योगदान पुर्याउनु भएका धमलाको सम्मानले सामाजिक संस्थाहरूको अभिलेखीकरण तथा संस्थागत विकासमा प्रविधिको महत्वसमेत उजागर गरेको छ।












