काठमाडौं महानगरपालिकाले अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी तथा पहिरो र ल्यान्डफिल साइटमा समेत पहिरो गएर माथिबाट लेदो तथा माटो खसेकाले केही समय फोहोर संकलन तथा ढुवानी प्रभावित हुन सक्ने जनाएको छ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले फोहोर संकलन नियमित हुन नसक्ने अवधिसम्म घर तथा परिसरभित्र फोहोर सुरक्षित रूपमा राख्न, कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै व्यवस्थापन गर्न तथा सडक, चोक, सार्वजनिक स्थल र खोला–नालामा फोहोर नफाल्न आग्रह गरेको छ।
वर्षाको पानीको निकासमा समेत अवरोध हुन सक्ने भएकाले सडक तथा सार्वजनिक स्थानमा फोहोर नफाल्न महानगरले विशेष अनुरोध गरेको छ। मौसम तथा ल्यान्डफिल साइटको अवस्था सामान्य भएपछि फोहोर संकलन तथा ढुवानी सेवा नियमित गरिने महानगरपालिकाले जनाएको छ।
काठमाडौं महानगरपालिका–७ का वडाध्यक्ष बिमल कुमार होडाले अविरल वर्षाका कारण फोहोर संकलन तथा ढुवानी कार्य केही समय प्रभावित हुन सक्ने जानकारी दिनुभएको हो ।











