२०८३, २० आश्विन मंगलबार | Wed Oct 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढानीलकण्ठमा ‘कपडा बैंक’ सञ्चालनमा, सहयोगको संस्कार बलियो बनाउन वडाध्यक्ष भट्टराईको आग्रह



बुढानीलकण्ठ नगरपालिकाको एक वडा कार्यालयमा ‘कपडा बैंक’ सञ्चालनमा ल्याइएको छ। विपन्न, असहाय तथा आवश्यकतामा रहेका नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले सुरु गरिएको अभियानमार्फत प्रयोग गर्न मिल्ने कपडा तथा दैनिक जीवनमा आवश्यक सामग्री संकलन गरी आवश्यक व्यक्तिलाई उपलब्ध गराइने भएको छ।

‘मानवता नै सबैभन्दा ठूलो धर्म हो’ भन्ने भावनाका साथ सुरु गरिएको अभियानको शुभारम्भ गर्दै वडाध्यक्ष शम्भु प्रसाद भट्टराईले सहयोगको संस्कारलाई अझ बलियो बनाउन सबैलाई आग्रह गर्नुभयो।

उहाँले आफू जनप्रतिनिधि हुँदा होस् वा नहुँदा, नागरिकको सुख–दुःख र अप्ठ्यारोमा आफ्नो क्षमताले भ्याएसम्म साथ दिँदै आएको बताउनुभयो। आफूले गरेका सहयोगका कामलाई प्रचार गर्न आवश्यक नठाने पनि ‘कपडा बैंक’ भने व्यक्तिगत अभियान नभई सबैको साझा मानवीय अभियान बन्नुपर्ने भएकाले यसको जानकारी गराउन आवश्यक ठानेको उहाँको भनाइ थियो।

कपडा बैंकमा वडावासीसँगै अन्य स्थानमा बसोबास गर्ने इच्छुक महानुभावहरूले समेत आफूले प्रयोग गरेर राम्रो अवस्थामा रहेका सफा कपडा तथा नयाँ कपडा सहयोग गर्न सक्नेछन्। त्यस्तै, कपडासँगै किताब, कापी, कलम, सिरक, ओढ्ने–ओछ्याउने सामग्री, पञ्जा लगायत दैनिक जीवनमा आवश्यक अन्य सामग्री समेत सहयोग गर्न सकिने व्यवस्था गरिएको छ।

वडाध्यक्ष भट्टराईले सहयोग सामग्री आवश्यकतामा रहेका व्यक्तिसम्म पुर्‍याउने अभियानमा सबैको सहभागिता आवश्यक रहेको बताउँदै विपद्मा परेका तथा समस्यामा रहेका नागरिकको सहारा बन्न आग्रह गर्नुभयो।

उहाँले “मानवता जगाऔँ, सहयोगको संस्कार बढाऔँ, विपद्मा परेकाको सहारा बनौँ र मानवताको संरक्षण गरौँ” भन्ने सन्देशसहित अभियानलाई सफल बनाउन सबै पक्षलाई आह्वान गर्नुभएको छ।

वडाध्यक्ष भट्टराईका अनुसार ‘कपडा बैंक’ केवल कपडा संकलन र वितरण गर्ने केन्द्र मात्र नभई समाजमा सहयोग, सहकार्य र मानवीय संवेदनाको भावना विकास गर्ने माध्यमका रूपमा अघि बढाउने लक्ष्य राखिएको छ।

प्रकाशित मिति : २०८३, २० आश्विन मंगलबार ००:००  ६ : ०६ बजे