२०८३, १५ भदौ सोमबार | Mon Aug 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रसुवा बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे



रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु भई विभिन्न स्थानबाट फेला परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएकामध्ये आइतबारसम्म १५ वटा शव पहिचान गरी आफन्तले बुझेका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार शवको पहिचान, कानुनी प्रक्रिया तथा पोस्टमार्टम सम्पन्न भएपछि आफन्तलाई बुझाइएको हो ।

आफन्तले बुझेका शवमध्ये १४ पुरुष र एक महिला रहेका उनले जानकारी दिए ।

चितवनका ३६ वर्षीय सत्यसुन्दर प्रजापति, अर्घाखाँचीका ४५ वर्षीय नारायणबहादुर थापा, मकवानपुरका ३६ वर्षीय उद्धव खड्का, नवलपरासी पश्चिमका ३७ वर्षीय यादव भण्डारी, इलामका ३८ वर्षीय दीपक भनिने दिवानन्द सुवेदी र धादिङ घर भई काठमाडौँ बस्दै आएका ४२ वर्षीय सञ्जोग घर्तीमगरको शव पहिचानपछि आफन्तलाई हस्तान्तरण गरिएको सहायक प्रजिअ बरालले जानकारी दिए ।

यसैगरी नुवाकोटकी ५६ वर्षीया शारदा ढकाल, गोरखाका ५५ वर्षीय यमबहादुर थापा, पाल्पा घर भई रसुवाको इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरी सहायक हवल्दार ३४ वर्षीय दीपेन्द्र विष्ट, नुवाकोटका पाँच वर्षीय प्रतिन्स तामाङ, रसुवाका प्रभास भनिने पुरुषोत्तम रैला, सप्तरीका २८ वर्षीय सन्तोष चौधरी, काभ्रेपलाञ्चोकका ४६ वर्षीय डिकबहादुर कायस्थ, गोरखाका ४० वर्षीय केदार पण्डित र काठमाडौँका ३४ वर्षीय राजु सुनारको शव आफन्तले बुझेका उनले बताए ।

भोटेकोशी बाढीपछि धादिङ, गोरखा, तनहुँ र नवलपरासीका विभिन्न स्थानमा फेला परेका १०२ शवलाई पहिचान तथा कानुनी प्रक्रियाका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । मृतकको पहिचान खुलेसँगै पोस्टमार्टम सम्पन्न गरी सम्वन्धित परिवारजनलाई शव जिम्मा लगाइएको प्रशासनले जनाएको छ ।

बाढीमा बगेका व्यक्तिका शव पोखरामा ल्याइएपछि सम्पर्कविहीन भएका व्यक्तिका आफन्तहरू यहाँ आएर प्रतिष्ठानमा शव पहिचानका लागि स्क्रिनमा तस्बिर हेर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिष्ठानमा ल्याइका शवमध्येमा हालसम्म ५७ वटाको पोष्टमार्टम सकिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २०८३, १५ भदौ सोमबार ००:००  ९ : २१ बजे