२०८१, ६ जेठ आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफ्नै पाठ्यक्रम बनाउँदै दाङका स्थानीय तह



दाङका ६ स्थानीय तहले स्थानीय विषयवस्तु समेटर पाठ्यक्रम तयार गरेका छन्। बाँकी चार वटा स्थानीय तह पनि पाठ्यक्रमको तयारीमा जुटेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहलाई स्थानीय भाषा, भूगोल, संस्कृति लगायतका विषय समेटेर पाठ्यक्रम तयार गर्न पाउने व्यवस्था गरेको छ ।

घोराही उपमहानगरपालिकाले चालू शैक्षिक सत्रदेखि १ देखि ८ कक्षासम्म ‘हाम्रो घोराही’ विषयमा स्थानीय पाठ्यक्रम तयार गरेर पठन पाठन सुरु गरेको छ।

‘पाठ्यक्रममा घोराहीको भौगोलिक अवस्था, प्राकृतिक सौन्दर्यता, तालतलैया, मठमन्दिरहरु राखेका छौं’, नगर शिक्षा अधिकृत नारायणप्रसाद पौडेलले भने, ‘स्थानीय स्रोत साधन र स्थानीय परिवेश सुहाउँदो विषयवस्तु समेटेर पाठ्यक्रम तयार गरेका हौं।’

तुलसीपुर उपमहानगरपालिकाले गत वर्षदेखि ६७ सामुदायिक विद्यालयमा ‘हाम्रो तुलसीपुर’ नामक पाठ्यक्रमको कक्षा १ देखि ८ सम्म पठनपाठन सुरु गरेको छ। ‘स्थानीय विषयहरु समेटेर पाठ्यक्रम तयार गरेर अध्यापन भइरहेको छ’ तुलसीपुर उपमहानगरपालिका मेयर टीकाराम खड्काले भने, ‘अब पुस्तक छापेर विद्यार्थीलाई बाड्ने तयारीमा छौं।’

उनले केन्द्रीय पाठ्यक्रमले नसमेटेका विषयसँगै कृषि, रैथाने तरकारी खेती, वनस्पतिजन्य वस्तुहरू, जीवन उपयोगी शिक्षा, धार्मिक ऐतिहासिक, सांस्कृतिक र भौगोलिक पहिचान, पर्यटकीय स्थल जस्ता विषयहरु पाठ्यक्रममा समावेश गरिएको बताए।

राजपुर गाउँपलिकाले ‘हाम्रो राजपुर’ नामक पाठ्यक्रम तयार गरेर कक्षा १ देखि ८ कक्षासम्म पठनपाठन गराइरहेको छ। राजपुरमा ३२ वटा सामुदायिक र ५ वटा निजी गरी ३७ वटा विद्यालयमा स्थानीय पाठ्यक्रमको पठनपाठन भइरहेको छ।

राप्ती, शान्तिनगर र बगलाचुली गाउँपालिकाले पनि स्थानीय पाठ्क्रम गत वर्षदेखि नै पाठ्यक्रम लागू गरिसकेका छन्। लमही नगरपालिका, दंगीशरण, गढवा र बबई गाउँपालिकाले भने स्थानीय पाठक्रम निर्माणको तयारीमा छन्। त्यसका लागि कार्यपालिकामा छलफल समेत भएको जनप्रतिनिधिहरुले बताएका छन्।

गढवा गाउँपालिकाले पनि स्थानीय भूगोल, सम्पदा, धर्म, कला, संस्कृति लगायतका समग्र अवस्थालाई समेटेर पाठ्क्रम निर्माणको अन्तिम चरणमा रहेको गाउँपालिका शिक्षा शाखा प्रमुख श्यामबहादुर विक बताउँछन्। ‘स्थानीय पाठ्यक्रम निर्माणको अन्तिम चरणमा छौ, सम्भवतः यही वर्षदेखि लागु गर्ने तयारीमा छौं’ उनले भने ।

स्थानीय तहले पाठ्यक्रम लागु गरेपनि पुस्तक भने विद्यार्थीको हातमा पुगेको छैन। पालिकाहरुले तयार गरेका पाठ्यक्रमको छपाइ नगर्दा विद्यार्थीले पुस्तक नपाएका हुन्। पाठ्यक्रम लागु गरेको जिल्लाका कुनै पनि स्थानीय तहले हालसम्म पाठ्यपुस्तक छपाइ गरेका छैनन्। विद्यालयलाई पाठ्यक्रमको ई-कपी उपलब्ध गराएर अध्यापन भइरहेको पालिकाका अधिकारीहरु बताउँछन् ।

प्रकाशित मिति : २०८०, २२ जेठ सोमबार ००:००  ६ : १५ बजे