काठमाडौं।बजेट सार्वजनिक गर्दा करिब एक दशकयता दोहोरिरहने नाममध्ये एउटा हो बुटवल धागो कारखानाु।
यही साता अर्थमन्त्री जनार्दन शर्माले बुटवल धागो कारखानालाई उपयुक्त ढाँचामा सञ्चालन गर्ने भन्दै आगामी वर्षको बजेटमा समावेश गरे। यो घोषणासँगै कारखानाको चर्चा फेरि सुरू भएको छ।
यो कारखाना बन्द भएको १३ वर्ष भइसक्यो। बजेट भाषणदेखि विभागीय मन्त्री फेरिँदासम्म यसलाई फेरि सञ्चालन गर्ने चर्चा सुरू हुन्छ तर कसरी गर्ने भन्ने स्पष्ट खाका हुँदैन। त्यसैले यो क्षेत्रका उद्योगी व्यवसायीलाई यसपालि पनि विगतका सरकार र मन्त्रीले दिएजस्तै आश्वासन मात्र लागेको छ।
कारखाना बन्द भएको एक वर्षपछि नै, २०६७ सालमा तत्कालीन उद्योगमन्त्री अनिल कुमार झाले उद्योग निरीक्षण गर्दै सञ्चालन गर्ने आश्वासन दिएका थिए। त्यसपछि २०७० सालमा उद्योगमन्त्री कर्णबहादुर थापा र २०७१ सालमा उद्योगमन्त्री महेश बस्नेतले कारखाना निरीक्षण गरे। सञ्चालन गर्ने आश्वासन दिए।
२०७२ सालमा फेरि उद्योगमन्त्री सोमप्रसाद पाण्डेको निरीक्षण भयो। यो नेपालकै पहिलो धागो कारखाना र देशको गहना भएको भन्दै सञ्चालनका लागि पहल गर्ने भने। त्यसयता लुम्बिनी प्रदेशका उद्योगमन्त्री, उद्योग मन्त्रालय, उद्योग विभाग लगायतका माथिल्ला तहका सरकारी अधिकारीहरूले पटकपटक कारखाना निरीक्षण गरे। निरीक्षणैपिच्छे पुनः सञ्चालन गर्ने कुरा आश्वासनमा मात्र सीमित भयो।
नेपाललाई सूती कपडामा आत्मनिर्भर बनाउने उद्देश्यले बुटवल १० रामनगरमा २०३९ चैत ३ गते यो कारखाना स्थापना भएको थियो। दाङमा कपास खेती, बुटवलमा धागो उत्पादन र हेटौंडामा कपडा उत्पादन गर्ने लक्ष्य थियो। तर धागो उत्पादन ९ वर्षपछि, २०४८ सालदेखि मात्रै सुरू भयो।
सुरूआती वर्षहरूमा यो कारखानाबाट दैनिक दस मेट्रिक टन धागो उत्पादन हुन्थ्यो। तीन सिफ्ट गरी चौबीसै घन्टा चल्ने कारखानामा स्थायी, अस्थायी, करार र ज्यालादारी गरी सात सयले काम गर्थे। कपास फिट्ने र धागो बाट्ने ५६ वटा मेसिन थिए। यहाँबाट उत्पादित ८० प्रतिशत धागो भारतमा निर्यात हुन्थ्यो।