२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिजनको पर्खाईमा पोखरा



कास्की। कोरोना महामारीका कारण थलिएको पोखराको पर्यटन क्षेत्र अझै उठ्न सकेको छैन । महामारी सकिएसँगै विदेशी पर्यटक आउने क्रम बढे पनि अहिले पर्यटन क्षेत्रको ‘अफ सिजन’ले गर्दा पर्यटकको चहलपहल कम छ ।

केही समय भारतीय पर्यटकको आगमन भए पनि तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा सुधार आउन सकेन । यो तेस्रो मुलुकका पर्यटकका लागि ‘अफ सिजन’ हो । अहिले भारतीय पर्यटक केही आउने गर्छन् भने आन्तरिक पर्यटकले पोखराको पर्यटन क्षेत्रलाई निकै थेगेको छ ।

पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बर्खाको समय भएकाले पोखरामा पर्यटकको चहलपहल नभएको बताउनुभयो । “अहिले त होटलको अकुपेन्सी १० प्रतिशत मात्र छ, शनिबार र बिदाको दिन २५ प्रतिशत जति अकुपेन्सी हुने गरेको छ । दुई–तीन हप्तापछि बल्ल सिजन सुरु हुन्छ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार अहिले भारतीयभन्दा आन्तरिक पर्यटकको सङ्ख्या बढी छ । तेस्रो मुलुकबाट आउने पर्यटक पनि धेरैथोरै आइरहेको उहाँले सुनाउनुभयो । “बर्खा सकिएपछि टे«किङको सिजन सुरु हुन्छ । दशैँतिहारपछि पर्यटन क्षेत्रको उत्साह बढ्नेछ । बुकिङ पनि सेप्टेम्बरपछिका लागि अलिअलि भइरहेको पनि छ,” सुवेदीले भन्नुभयो ।

कोरोना महामारीको अर्को लहर आएन भने सुस्ताएको पोखराको पर्यटन पुनः पहिलेको अवस्थामा आउने आशामा पोखराका पर्यटन व्यवसायी छन् । “नयाँ वर्षको बेलामा पर्यटकले गर्दा पोखराका होटल भरिभराउ थिए । आन्तरिकसँगै भारतीय पर्यटक पनि अहिले पोखरामा घुम्नका लागि आएका थिए तर अहिले बर्खाले गर्दा अलिक कम भएको छ,” उहाँले भन्नुभयो ।

कोरोना महामारीकै कारण २५ जना होटल व्यवसायी विस्थापन भइसकेको होटल सङ्घले जनाएको छ । पोखरामा ४२५ होटल सङ्घमा दर्ता भएका छन् । पोखरा र आसपासमा गरी एक हजार दुई सय होटल छन्, जसमा ३५ हजार शøया छन् । अध्यक्ष सुवेदीले भन्नुभयो, “४० हजार पाहुना पोखरा आए पनि थेग्न सक्ने क्षमता छ । लेकसाइड र ड्यामसाइड गरी सात सय होटल छन् ।”

सेप्टेम्बरपछिको बुकिङ बढ्दै

नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाटा), गण्डकीका कोषाध्यक्ष राजेश पहारीले ‘अफ सिजन’ले गर्दा पर्यटन क्षेत्र सुनसान रहेको बताउनुभयो । “दुई महिना जति भयो, सुनसानजस्तै छ । सेप्टेम्बरपछिको बुकिङ भने राम्रो छ,” उहाँले भन्नुभयो । बङ्गलादेश र भारतका पर्यटकको बुकिङ राम्रो रहेको उहाँले जानकारी दिनुभयो । उहाँले कोभिड–१९ पछि आन्तरिक पर्यटकले पोखराको पर्यटन क्षेत्र धानिएको बताउनुभयो ।

दैनिक एक सय प्याराग्लाइडिङ उडान

नेपाल हवाई खेलकुद संस्थाका निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले बर्खाले गर्दा प्याराग्लाइडिङ उडानमा कमी भएको जानकारी दिनुभयो । “आठ–दस दिन जति भयो उडानमा कमी भएको छ । बर्खा सकिएपछि मौसम पनि सफा हुने भएकाले उड्न बढ्नेछ,” उहाँले भन्नुभयो । सिजनमा पाँच÷छ सय उडान हुनेमा अहिले एक सयको हाराहारीमा मात्रै प्याराग्लाइडिङ उडान भइरहेको उहाँले बताउनुभयो ।

सराङकोट र तोरीपानीको टेकअफ एरियाबाट उडेर फेवाताल सिरान र चङ्खपुर क्षेत्रमा प्याराग्लाइडिङ अवतरण हुन्छ । अहिले प्याराग्लाइडिङका लागि आठ हजार रुपियाँ शुल्क तिर्नुपर्छ । कोरोना महामारीपछि ५० प्रतिशत छुटमा उडाइए पनि अहिले अवस्था सामान्य भएसँगै पूरै शुल्क लाग्ने भण्डारीले जानकारी दिनुभयो ।

कोभिड–१९ले गर्दा पर्यटन व्यवसाय ठप्प रहेको अवस्थामा प्रतिकूल समयसँग जुधेर भए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै प्याराग्लाइडिङ उडान गरिरहेको उहाँले सुनाउनुभयो ।

पोखरामा ६० वटा प्याराग्लाइडिङ कम्पनी छन् । अहिले प्याराग्लाइडिङका लागि बुकिङ हुने क्रम बढेको भण्डारी बताउनुभयो ।

हावाहुरीले डुङ्गा चल्न गाह्रो

डुङ्गा व्यवसायी सङ्घका अध्यक्ष बुद्धिबहादुर नेपालले वर्षा र हावाहुरीका कारण डुङ्गा चढ्न आउनेको सङ्ख्या कमी भएको जानकारी दिनुभयो । “अहिले त अफ सिजन, त्यसमाथि वर्षा र हावाहुरीले डुङ्गालाई अप्ठ्यारो पार्छ, वाराही घाटमा मुस्किलले दैनिक १५–२० वटा डुङ्गा चल्ने गरेका छन्,” उहाँले भन्नुभयो । फेवातालमा डुङ्गा चल्ने आठवटा घाटमध्ये वाराही घाटमा ३५६ वटा डुङ्गा छन् । पोखरा डुङ्गा व्यवसायी सङ्घका अनुसार आठवटा घाटमा गरेर फेवातालमा झन्डै साढे सात सय डुङ्गा सञ्चालन हुन्छन् । गोरखापत्र दैनिक

प्रकाशित मिति : २०७९, २४ भाद्र शुक्रबार ००:००  १ : १२ बजे