खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार २०८२’ पाउने भएको छ । नेपालका प्रधानाध्यापकहरूको संगठन प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान) ले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट पालिका पुरस्कार यसवर्ष हलेसी तुवाचुङ नगरपालिकाले पाउने भएको हो ।
शिक्षा क्षेत्रमा गरेको नेतृत्व, प्रतिबद्धता र नवीन पहललाई प्रोत्साहन गर्दै हलेसी तुवाचुङ नगरपालिकालाई राष्ट्रिय पुरस्कारसहित सम्मान गरिने संघका अध्यक्ष सुदाम प्रसाद गौतमले बताए ।
प्रा. डा. विद्यानाथ कोइरालाको नेतृत्वमा गठित समितिले २५ ओटा शैक्षिक मापदण्डका आधारमा मूल्याङ्कन गरेर हलेसी तुवाचुङलाई कोशी प्रदेशकै उत्कृष्ट ठहर गर्दै पुरस्करका लागि सिफारिस गरेको थियो ।
जेठ २३ गते पोखरामा हुने संघको दोस्रो राष्ट्रिय सम्मेलन मार्फत नगरपालिकालाई पुरस्कृत गर्ने कार्यक्रम छ । संघले पुरस्कार ग्रहणका लागि आमन्त्रण गर्दै नगरप्रमुख विमला राईलाई पत्राचार गरिसकेको छ ।

‘नेतृत्वका नयाँ परिभाषा : विद्यालय उत्कृष्टताका लागि परिवर्तनको अगुवाई’ भन्ने मुल नाराका साथ सञ्चालन हुने राष्ट्रिय सम्मेलनमा देशभरका शिक्षाविद्, नीति निर्माता, प्रधानाध्यापक, शिक्षक, विद्यार्थीलगायत १ हजार भन्दा बढीको सहभागिता रहनेछ ।
प्राध्यापक संघको छनोटमा उत्कृष्ट पालिकाका रुपमा चयन हुनु हलेसी तुवाचुङका लागि गौरवको विषय बनेको नगरप्रमुख विमला राईको भनाई छ । स्थानीय आवश्यकता र समयको माग अनुसार शैक्षि विकास र गुणस्तर सुधारमा अधिकतम् प्रयत्न गरिरहेको नगरप्रमुख राईको दावी छ ।
निजि र सामुदायिक गरि कुल ९० वटा विद्यालय रहेको हलेसी तुवाचुङ नगरपालिकाका सामुदायिक विद्यालयहरुमा पछिल्लो ३ वर्षमा भौतिक पूर्वाधार विकास, शिक्षक दरबन्दी व्यवस्थापन, प्राविधिक तथा प्रविधियुक्त शैक्षिक कार्यक्रम विस्तारलगायतका काम भएका छन् ।
यस अवधिमा नगरपालिकाका विभिन्न विद्यालयमा गरि २६ वटा आरसीसी भवन निर्माण भएका छन् भने २८ वटा सामुदायिक विद्यालयको भवन मर्मत तथा व्यवस्थापन गरिएको छ ।
कक्षाकोठा व्यवस्थापन, प्रयोगात्मक र व्यवहारिक सिकाई केन्द्रको स्थापना, पुस्तकालय व्यवस्थापन, बालबालिकामैत्री संरचना निर्माण, खानेपानी र शौचालय व्यवस्थापन, बालमैत्री शिक्षण पद्धती अवलम्बन, शिक्षक तालिमलगायत नियमित विद्यालय अनुगमन जस्ता विषयमा नगरपालिकाले सक्रियतापुर्वक कार्यसम्पादन गरिरहेको छ । दिवाखाजा, छात्रवृत्तिजस्ता कार्यक्रम प्रभावकारी बनाइएको छ ।
नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेसँगै हलेसीको शैक्षिक उपलब्धिमा सुधार आएको छ । सुशासन र शैक्षिक विकासमा हलेसीले छोटो समयमै जिल्लामा फड्को मारेको छ ।