बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रम पास गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२-०८३ को नीति कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार प्रदेश सरकारले विभागिय मन्त्रालयहरुले समावेश गरेको नीति कार्यक्रम विभिन्न चरणमा सरोकारवाला निकायसंग छलफल गरी मन्त्रिपरिषदबाट स्वीकृत गरिएको हो । मन्त्रालयहरुले आगामी आर्थिक वर्षको बजेटमा समेट्नेगरी प्रभावकारी ढंगबाट नीति कार्यक्रम तयार गरेको उनले बताए ।
मन्त्रिपरिषदबाट स्वीकृत भएको नीति कार्यक्रम प्रदेशसभाको बैठकबाट सार्वजनिक गरिने उनले बताए । सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम पेश गर्न प्रदेशसभाको बैठक जेठ १४ गते १ बजेका लागि आह्वान गरिएको उनले बताए ।
उक्त बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आगामी आर्थिक वर्ष २०८२-०८३ वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
सरकारको नीति कार्यक्रम प्रस्तुत गर्न प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेश प्रमुख देवकोटालाई औपचारिक पत्राचार समेत गरिसकेका छन् ।
सभामुख पाठकले उक्त दिन प्रदेशसभाका सदस्यलाई औपचारिक पोसाकमा उपस्थित हुन निर्देशन समेत गरेका छन् ।