२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जापानमा २५ वर्षीया नेपाली युवती मृत फेला



जापानको फुकुओकास्थित नाकागावा नदीमा २५ वर्षीया नेपाली युवती लक्ष्मी राजवंशी मृत फेला परेकी छन्

अगस्ट १९ मा नदीमा तैरिरहेको अवस्थामा उनको शव भेटिएपछि जापानी प्रहरीले हत्याको आशंकामा अनुसन्धान अघि बढाएको छ ।

सन् २०२३ को मे महिनामा विद्यार्थी भिसामा जापान पुगेकी लक्ष्मी त्यहाँको एक भाषा विद्यालयमा अध्ययनरत थिइन् । उनी स्थानीय एक रेस्टुरेन्टमा आंशिक समय काम गर्दै आएकी थिइन् ।

अगस्ट १८ को राति करिब १०:३० बजे उनी काम गर्ने रेस्टुरेन्टबाट साइकलमा डेरातर्फ जाँदै गर्दा सहकर्मीले उनलाई अन्तिम पटक देखेको बताइएको छ । अगस्ट १९ को बिहान ५:४५ बजे नदीमा उनको शव फेला परेको थियो । उनको साथमा व्यक्तिगत सामान भने फेला नपरेको प्रहरीले जनाएको छ ।

शव परीक्षणबाट मृत्युको स्पष्ट कारण खुल्न नसके पनि उनको टाउको र निधारमा कुनै वस्तुले प्रहार गरेको गम्भीर चोट फेला परेको छ । साथै, उनको कोठामा रगतका दाग र हात हालाहाल भएको संकेतसमेत भेटिएको बताइएको छ ।

प्रहरीले उनको डेराको ढोकामा जबरजस्ती प्रवेश गरेको वा कोठामा तोडफोड भएको कुनै स्पष्ट संकेत भने फेला नपरेको जनाएको छ ।

प्रकाशित मिति : २०८३, ९ भदौ मंगलबार ००:००  ११ : ३४ बजे