२०८३, ७ मंसिर आइतबार | Sun Nov 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरीको बेवास्तापछि बेपत्ता: सुरक्षा माग्दै पुगेका रित बहादुर तोलाङ्गे कहाँ हराए ?



आफ्नै परिवारबाट ज्यानको खतरा रहेको भन्दै प्रहरीसँग सुरक्षा माग्न पुगेका एक व्यक्ति केही दिनमै रहस्यमय रूपमा सम्पर्कविहीन भएपछि जिल्ला प्रहरी कार्यालय रामेछापको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ।

ओखलढुङ्गाको लिखु गाउँपालिका–२, कोपानी निवासी रितबहादुर तोलाङ्गे मंसिर ३ गते साँझदेखि सम्पर्कविहीन छन्। बेपत्ता हुनुअघि उनले आफूलाई बुबा, आमा, श्रीमती तथा परिवारका अन्य सदस्यबाट ज्यानको खतरा रहेको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा पुगेर सुरक्षा मागेका थिए। तर बारम्बार आग्रह गर्दा पनि प्रहरीले आफ्नो गुनासो नसुनेको र उजुरीसमेत दर्ता नगरेको आरोप परिवारको छ।

तोलाङ्गेले प्रहरी कार्यालयमा पुगेर आफ्नो अवस्था जानकारी गराउनुका साथै सामाजिक सञ्जाल फेसबुकमार्फत पनि आफू असुरक्षित रहेको, परिवारबाट ज्यानको खतरा रहेको र प्रहरी कार्यालयमा आफ्नो गुनासोको सुनुवाइ नभएको उल्लेख गर्दै सार्वजनिक अपिल गरेका थिए।

उनले फेसबुकमा राखेको पोस्ट :

यता, जिल्ला प्रहरी कार्यालय रामेछापले भने तोलाङ्गे दुई पटक प्रहरी कार्यालय आएको स्वीकार गर्दै उनी मादक पदार्थ सेवन (मापसे) गरेको अवस्थामा आएकाले उजुरी लिन नसकिएको जनाएको छ। तर परिवारले भने मापसे गरेको भन्ने आधारमा वास्तविक समस्या नै नबुझी सुरक्षा माग्न आएका व्यक्तिलाई बेवास्ता गर्नु गम्भीर लापरबाही भएको आरोप लगाएको छ।

परिवारका अनुसार मंसिर १ गते साँझ घरबाट निस्किएका तोलाङ्गे मन्थली पुगेका थिए। मंसिर ३ गते बिहान उनीसँग करिब ४३ हजार रुपैयाँ नगद तथा केही सुन रहेको बताइएको छ। उनी उपचारका लागि जाने तयारीमा रहेको समेत परिवारले जनाएको छ। त्यसयता भने उनको कुनै अत्तोपत्तो लागेको छैन।

मंसिर ३ गते बिहान मन्थली क्षेत्रमा रहेको सीसीटीभी फुटेजमा उनी हिँडिरहेको देखिएको बताइएको छ। त्यसपछि उनी कहाँ गए भन्ने खुल्न सकेको छैन। मंसिर ५ गते बिहान मन्थली विमानस्थल क्षेत्र नजिकै स्थानीयले उनको मोबाइल फोन फेला पारी प्रहरीलाई बुझाएका थिए। मोबाइल फोनसमेत फेला परेपछि परिवारको चिन्ता झन् बढेको छ।

रितबहादुरका सालो भाइले मंसिर ४ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा खोजतलासका लागि निवेदन दिएका छन्। उनका अनुसार आफू मन्थली पुगेर होटल तथा स्थानीयसँग समेत सोधपुछ गर्दा कुनै जानकारी प्राप्त हुन सकेन।

परिवारका अनुसार पछिल्ला केही समयदेखि रितबहादुरको व्यवहार असामान्य देखिन थालेको थियो। उनी अत्यधिक डराएको जस्तो व्यवहार गर्ने, असम्बन्धित कुरा गर्ने तथा आफूलाई कसैले तन्त्र–मन्त्र गरेर मार्ने तयारी गरिरहेको दाबी गर्ने गर्थे। परिवारले उनलाई मनोचिकित्सकसमक्ष उपचारका लागि लैजाने तयारी गरिरहेको जनाएको छ।

सालो भाइका अनुसार मंसिर २ गते बेलुका फेसबुक म्यासेन्जरमा भएको कुराकानीमा रितबहादुरले परिवारदेखि निकै डर लागेको, आफूलाई उपचारको आवश्यकता रहेको तथा निश्चित समयभित्र आफूलाई मार्ने योजना बनाइएको जस्तो लागेको बताएका थिए। तर परिवारले त्यस्ता दाबीको कुनै तथ्यगत आधार नभेटिएको जनाएको छ। उनी घरबाट निस्किएपछि खोजी गर्दा नभेटिए पनि पछि मन्थली पुगेको जानकारी प्राप्त भएको थियो। उपचार गराउने तयारी भइरहेकै अवस्थामा उनी मंसिर ३ गते साँझदेखि सम्पर्कविहीन भएको परिवारको भनाइ छ।

परिवारका अनुसार रितबहादुरका दुई छोरा छन्। अहिले सम्पूर्ण परिवार उनी सकुशल फर्किने आशामा विभिन्न निकायमार्फत खोजीको आग्रह गरिरहेको छ। सीसीटीभी फुटेज अध्ययन गरिए पनि उनको अवस्थाबारे अहिलेसम्म कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन।

यस घटनाले एउटा गम्भीर प्रश्न खडा गरेको छ—ज्यानको खतरा रहेको भन्दै सुरक्षा माग्न प्रहरी कार्यालय पुगेका व्यक्तिको गुनासो समयमै गम्भीरतापूर्वक सुनिएको भए, आवश्यक सुरक्षा मूल्याङ्कन र तत्काल खोजी प्रक्रिया अघि बढाइएको भए आजको अवस्था फरक हुन सक्थ्यो कि?

सुरक्षा माग्दै प्रहरी कार्यालय पुगेका व्यक्ति नै सम्पर्कविहीन भएपछि प्रहरी प्रशासनको संवेदनशीलता, उजुरी दर्ता प्रक्रिया तथा जोखिममा रहेका व्यक्तिप्रतिको व्यवहारबारे निष्पक्ष छानबिन हुनुपर्ने आवाज उठ्न थालेको छ।

परिवारले सम्बन्धित निकायसँग रितबहादुर तोलाङ्गेको तत्काल खोजी गरी उनको अवस्था सार्वजनिक गर्न आग्रह गरेको छ। साथै, उनलाई देख्नुहुने, भेट्नुहुने वा उनको अवस्थाबारे कुनै जानकारी पाउनुहुने महानुभावलाई नजिकको प्रहरी कार्यालय वा परिवारलाई तत्काल जानकारी गराइदिन अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८३, ७ मंसिर आइतबार ००:००  १२ : ५९ बजे