२०८३, २९ श्रावण शुक्रबार | Fri Aug 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोल्पा थबाङ पहिरो अपडेट : १० जनाको मृत्यु, तीन बेपत्ता, दुई घाइते



रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारा पहिरोमा परेर १० जनाको मृत्यु भएको पुष्टि भएको छ । रोल्पा प्रहरीका अनुसार अझै तीन जना बेपत्ता छन् ।

मृतक सबैको सनाखत पनि भइसकेको छ । मृतकमध्ये ५ जनाको शव रोल्पाका विभिन्न ठाउँमा भेटिएको हो भने, ५ जनाको शव छिमेकी जिल्ला प्युठानका खोला किनारमा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पामै शव भेटिएकामा १८ वर्षीया शान्ति पुनमगर, ६० वर्षीय कमलबहादुर पुनमगर, ७५ वर्षीय दलबहादुर पुनमगर, ८० वर्षीया मनखना पुनमगर र ८५ वर्षीया हस्तकला रोकामगर छन् ।

यस्तै, प्युठानमा भेटिएका शवमा ७ वर्षीय अशोक पुनमगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीया मनी पुनमगर, ३४ वर्षीया विष्णु पुनमगर र ८० वर्षीय बलबहादुर पुन मगरका रहेको प्युठान प्रहरीले जनाएको छ । उनीहरूका आफन्तले शवको सनाखत गरेको प्रहरीले जनाएको छ ।

प्युठानका स्वर्गद्वारी नगरपालिकाका जुडापाटा, किमिचौर, गोठीबाङ, अर्दुस भन्ने ठाउँमा माडी खोलाको किनारमा चार वटा शव र स्वर्गद्वारी–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा थप एक शव भेटिएको बताइएको छ ।

पहिरोमा परेर बेपत्ता हुनेमा ९ वर्षीय अशिम पुनमगर, ८० वर्षीय अजम्बर पुनमगर र ६१ वर्षीय लिलबहादुर पुनमगर छन् ।

पहिरोमा घाइते भएका २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगरलाई उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको रोल्पा प्रहरीले जनाएको छ ।

पहिरोमा परेर ९  घर, एक घुम्ती पसल, दुई गोठ र एक चर्च गरी १३ वटा संरचना बगाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार राति ८:४० बजेको समयमा बस्तीमाथिबाट पहिरो आएको थियो ।

प्रकाशित मिति : २०८३, २९ श्रावण शुक्रबार ००:००  १२ : ४६ बजे