२०८३, २ भदौ मंगलबार | Tue Aug 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगर प्रमुख रिसाललाई ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड’



गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसाल शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानका लागि ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित भएका छन्।

थाइल्यान्डको पटायास्थित सियामिज होटलमा अगस्ट १० मा आयोजित ‘नेपाल–थाइल्यान्ड मैत्री महोत्सव’ तथा ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड २०२६’ समारोहमा नगर प्रमुख रिसाललाई ‘शिक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट एसिया नेपाल नगर प्रमुख पुरस्कार’ प्रदान गरिएको हो।

शिक्षा तथा स्वास्थ्य क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै समाजमा उल्लेखनीय योगदान पुर्‍याएको, व्यावसायिक उत्कृष्टता कायम गरेको तथा समर्पित सेवामार्फत समुदायमा सकारात्मक प्रभाव पारेको भन्दै उनलाई सम्मान गरिएको प्रमाणपत्रमा उल्लेख छ।

विश्वव्यापी उत्पादन सञ्चार प्रालि र हिमालयन सामुदायिक परियोजनाको संयुक्त आयोजनामा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

शिक्षा र स्वास्थ्यलाई प्राथमिकता

नगर प्रमुख रिसालले गोकर्णेश्वर नगरपालिकाको नेतृत्व सम्हालेपछि शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम तथा सेवाहरू सञ्चालन गर्दै आएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य बीमा, अस्पताल सेवा सुधार तथा शिक्षातर्फ छात्रवृत्तिलगायतका कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ।

नगर प्रमुख रिसालले स्थानीय सरकारको मूल जिम्मेवारी नागरिकलाई सहज, गुणस्तरीय र पहुँचयोग्य सेवा उपलब्ध गराउनु रहेको बताए। उनले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई नगरपालिकाले निरन्तर प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै प्राप्त सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि नगरवासी, जनप्रतिनिधि, कर्मचारी तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैको सामूहिक प्रयासको सम्मानका रूपमा लिएको बताए।

‘यो सम्मान मेरो व्यक्तिगत मात्र नभई गोकर्णेश्वर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिरहेको कामको सम्मान हो। आगामी दिनमा पनि नगरवासीलाई अझ प्रभावकारी र गुणस्तरीय सेवा दिने गरी काम गर्नेछौँ,’ नगर प्रमुख रिसालले भने।

उनले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रको विकासबिना समृद्ध समाज निर्माण सम्भव नहुने भन्दै स्थानीय तहले नागरिकको आवश्यकतालाई केन्द्रमा राखेर कार्यक्रम अघि बढाउनुपर्ने बताए।

रिसाललाई प्रदान गरिएको उक्त सम्मानले स्थानीय तहबाट शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भइरहेका प्रयासलाई अन्तर्राष्ट्रियस्तरमा समेत पहिचान दिलाएको आयोजकको भनाइ छ।

प्रकाशित मिति : २०८३, २ भदौ मंगलबार ००:००  ११ : ४३ बजे