काठमाडौं। शेरबहादुर देउवा नेपाली राजनीतिका खुङ्खार खेलाडी हुन् । राजनीतिका अगडमबगडम देउवा जति अरुलाई आउँदैन । त्यसैले त, देउवालाई विकृत राजनीतिका पर्याय मानिन्छ ।
रमाइलो पक्ष– राजनीतिमा शेरबहादुर विकृत नाम हो । तर, जति नै धेरै विकृत भए पनि राजनीति उनकै वरिपरि घुमिरहन्छ । कल्पनै नगरे पनि फ्याट्ट–फ्याट्ट प्रधानमन्त्री आइलाग्छ ।
२०७४ को आमनिर्वाचनपछि पाँच वर्ष देउवाका लागि बुढानिलकण्ठमा काजुबदाम खाँदै बस्ने समय निर्धारण भएको थियो । तर, तीन वर्षमै फ्याट्ट प्रधानमन्त्री आइलाग्यो । अनि सम्झे होलान्– सात पटक प्रधानमन्त्री हुन्छस् भन्ने ज्योतिषलाई
एमाले–माओवादी अर्थात कम्युनिष्ट विग्रहको फाइदा देउवालाई मिल्यो । त्यसैको जगमा पुनः प्रधानमन्त्रीको बलियो दाबेदारका रुपमा प्रस्तुत भए । ओलीविरुद्ध बनेको वाम–लोकतान्त्रिक गठबन्धन त्यसको जग बन्यो ।
बुधबार कांग्रेस संसदीय दलको निर्वाचन सम्पन्न भयो । गगन थापालाई पराजित गर्दै देउवा नेता निर्वाचित भए । छैटौँ पटक प्रधानमन्त्री बन्ने बाटोले वैधानिकता पायो । अनि फेरि सम्झे होलान्– सात पटक प्रधानमन्त्री हुन्छस् भन्ने ज्योतिषलाई
चौथो र पाँचौँ पटक प्रधानमन्त्री हुँदा देउवालाई माओवादीको साथ थियो । र, छैटौँ पटक प्रधानमन्त्री हुन पनि देउवालाई माओवादीकै साथ मिल्नुपर्ने छ । यसरी हेर्दा संसदीय राजनीतिमा कांग्रेस–माओवादी सहकार्य अनपेक्षित प्रगाढ देखिन्छ ।
कांग्रेसभन्दा पनि माओवादी र शेरबहादुर देउवाको विगत सम्झिनलायक छैन । माओवादी नेताको टाउकोको मोल तोक्ने त देउवा नै हुन् । तर, संसदीय राजनीतिमा सत्ता प्रधान बन्दै जाँदा विगतका तीतोहरु पखालिए झै लाग्छ ।
यतिखेर प्रधानमन्त्रीका रुपमा देउवाको छैटौं इनिङ तत्काल सुरु हुने या साढे दुई वर्षपछि भन्ने विषय पेचिलो छ । यसको मुख्य कारण माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रधानमन्त्री दाबी हो ।
वर्तमान सत्ता गठबन्धनकै सरकार बन्ने अवस्थामा देउवा र प्रचण्ड प्रधानमन्त्रीका मुख्य दाबेदार हुन् । यी दुवै आधा–आधा कार्यकाल प्रधानमन्त्री बन्न तयार छन् । तर, को पहिला भन्नेमा विवाद छ । दुवैले पहिलो कार्यकालको प्रधानमन्त्री बन्न चाहेका छन् ।
कांग्रेस सबैभन्दा ठूलो दल हो । यस आधारमा देउवा प्रधानमन्त्रीका पहिलो हकदार हुन् । तर, दुई वर्षपछि इमानदारीपूर्वक देउवाले सत्ता हस्तान्तरण गर्छन् भन्नेमा प्रचण्ड विश्वस्त छैनन् । किनकी, देउवाको सत्तामोह प्रचण्डले राम्ररी बुझेका छन् ।
देउवामा यस्तो गुण र कला छ, जुन गुण र कलाका अगाडि धेरै कुरा लत्रक्क हुन्छ । उनी बोल्दैनन्, बोले पनि थोरैले मात्र बुझ्छन् । तर, नबोली भित्रभित्रै काम तमाम गर्छन् । नबोलेरै धेरै कुरा टारिदिन्छन् । प्रचण्डलाई डर यसैको हो ।
देउवालाई राजनीतिक मूल्यमान्यता मतलव हुँदैन । आफूलाई ठीक लागे सबै ठीक ठान्छन् । चाहेको पूरा गर्न जे पनि गर्न तयार हुन्छन् । उनलाई कसले के भन्छ भन्ने चिन्ता हुँदैन । सुने पनि नसुने झै गरेर समय काटिदिन्छन् ।
प्रचण्डले यसअघि नै देउवासँग प्रतिवद्धता गरेअनुसार सर्लक्कै प्रधानमन्त्री हस्तान्तरण गरेर राजनीतिक इमानदारिता प्रस्तुत गरिसकेका छन् । तर, देउवाले उक्त प्रतिवद्धता सम्झेलान् झै लाग्दैन, प्रचण्डलाई । यस्ता धेरै उदाहरण छन्, देउवाले प्रतिवद्धता पूरा गरेका छैनन् ।
देउवा इमानदार र प्रतिवद्ध छैनन् भन्ने प्रचण्डलाई मात्र लाग्ने होइन, लोकलाई नै लाग्छ । र, आफ्नै पार्टीका नेता कार्यकर्ता पनि देउवाका बेइमानीमा जानकार छन् ।
देउवासँग संसदीय दलको नेता पराजित भएपछि महामन्त्री गगन थापाले भनेका थिए– ‘राष्ट्रपति, प्रधानमन्त्री वा अन्य कुनै पदका लागि बन्द कोठात्रिभ हुने सहमतिको जिम्मेवारी पार्टीले लिने छैन ।’
गगनको यो बोली पराजयको अभिव्यक्ति मात्र थिए, पार्टी सभापति देउवाप्रतिको अविश्वास मात्र थिए, प्रचण्डलाई गज्जबको सुझाव थियो ।
गगनले प्रचण्डलाई घुमाउरो पारामा भने– ‘देउवा दलको नेता निर्वाचित भए । सभापति पनि भएकाले उनकै निर्णयमा पार्टी अघि बढ्छ । यस्तो अवस्थामा सहमति, सहकार्यको सम्झौता देउवाबाटै हुन्छ । तर, देउवासँगको सहमतिमा विश्वस्त हुन सकिन्न है । प्रचण्ड पनि विश्वस्त नहुनु ।’
गगनको यो अभिव्यक्ति आलोपालो प्रधानमन्त्रीमा सहमति गर्न लागेका प्रचण्डलाई अति राम्रो सुझाव हो । किनकी, प्रचण्डले विगतमा पनि यस्तै सहमतिबाट धोका खाइसकेका छन् । ओलीसँग आधा–आधार कार्यकाल प्रधानमन्त्री हुने सम्झौता गरेका प्रचण्डले धोका पाएका थिए ।
कांग्रेसमा सभापतिको निर्णय नै अन्तिम हुन्छ । तर, गगनले ‘पावर सेयरिङ’को सन्दर्भमा हुने सबै सम्झौताहरू पार्टीले अनुमोदन गर्नुपर्ने धारणा राखेका छन् । यसले पनि के पुष्टि गर्छ भने कांग्रेसभित्रै पनि देउवामाथि पूर्णविश्वास गर्ने जमात घट्दै गएको छ ।
एक कोणबाट मात्र हेर्दा गगनले पराजयको पीडामा देउवामाथि अविश्वास गरेको भन्ने अर्थ पनि लाग्छ । तर, विगत हेर्दा आँखा चिम्लेर विश्वास गर्न सकिने पात्रा होइनन्, शेरबहादुर देउवा ।
यस पटकको जनमत अति तरल छ । यो जनमत जता पनि बग्न सक्छ । यस्तो जनमतलाई अनुकूल प्रयोग गर्न देउवाले धेरैपटक अभ्यास गरिसकेका छन् र सफल पनि भएका छन् । यस आधारमा पनि गगनले भने झौ देउवालाई फ्याट्ट विश्वास गरिहाल्ने अवस्था हुँदैन ।