पश्चिम दाङको बबई गाउँपालिका–५ मा अवस्थित पुरन्धरा झरना जिल्लाकै एक महत्वपूर्ण आकर्षक पर्यटकीय स्थल बन्न सफल भएको छ । अहिले यो झरनाको अवलोकन गर्न टाढाटाढाबाट दैनिक सयौँ मानिस पुग्न थालेका छन् ।
पैँतालीस फिट उचाइको यो झरनाबाट पानी तल खस्ने गरेको मनमोहक दृश्यले त्यहाँ पुग्ने जोकोहीलाई मन्त्रमुग्ध बनाउँछ । सोही दृश्यको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक लोभिने गरेको स्थानीयको भनाइ छ ।
तीन तिरबाट जङ्गलले घेरिएको यो ठाउँको पश्चिमतर्फ भने कलकल बग्ने बबई नदी छ । बबई नदी किनाराबाट करिब १० मिटर टाढा पूर्वतर्फ पुरन्धरा झरना आकाशबाट खसेजस्तै देखिन्छ । झरनाबाट एकतमासले बर्सिने पानी पोखरीजस्तै आकारमा तल जम्मा हुन्छ । त्यहाँबाट यो पानी बिस्तारै बबई नदीमा गई मिसिने गर्दछ ।
झरनाको अवलोकन गर्न पुग्ने कतिपय त्यही पानी खस्ने ठाउँमा सेल्फी खिच्न व्यस्त देखिन्छन् भने गर्मीको समयमा अवलोकन सहित पौडी खेलेर मज्जा लिनेहरुको पनि भीड लाग्ने गर्दछ ।
यतिबेला दाङका विभिन्न स्थान तथा अन्य छिमेकी जिल्लाबाट आन्तरिक पर्यटक झरनाको अवलोकनका लागि आउने गरेका झरना व्यवस्थापन समितिमा कार्यरत कर्मचारी कुलबहादुर बुढाले जानकारी दिनुभयो । बुढाका अनुसार अहिले दैनिक तीनदेखि चारसय आन्तरिक पर्यटक झरना अवलोकन तथा वनभोज खान यहाँ आइपुग्छन् ।
विदाको दिनमा झरनाको अबलोकन गर्न आउनेको संख्या अझ बढी हुने गर्दछ । बुढाका अनुसार झरना अवलोकन गर्न आउने पर्यटकबाट व्यक्तिगत शुल्क लिने नगरे पनि सवारीसाधनबाट भने पार्किङ शुल्क लिने गरिएको छ । मोटरसाइकलको रु ३०, कार तथा जिपको रु २०० र बसको रु २५० निर्धारण गरिएको छ ।
विगतका वर्षमा त्यहाँ कर्मचारीको व्यवस्था थिएन । अहिले झरनाको संरक्षण तथा पर्यटकको सुविधा तथा सुरक्षाका लागि त्यहाँ कर्मचारीको व्यवस्था गरिएको छ । झरनाको अवलोकन तथा वनभोज खान आउनेले ल्याउने सवारीसाधनबाट भएको आम्दानीबाट कर्मचारीलाई तलब दिन र बाँकी रकम झरनाको विकासमा खर्च गरिने श्री बुढाले जानकारी दिनुभयो ।
झरनाको अवलोकन गर्नका लागि कोहलपुरबाट पहिलो पटक पुग्नु भएकी ४५ वर्षीया कालिका रेग्मीले यहाँ आउँदा निकै आनन्द आएको प्रतिक्रिया दिनुभयो । “यो ठाउँ साँच्चिकै सुन्दर रहेछ । यहाँ केही भौतिक पूर्वाधार निर्माण गरी यसलाई पार्कको स्वरुप दिएर वरपरको वातावरण सफा राख्न सकिए अझ बढी पर्यटक आइपुग्ने देखियो ।”