बाजुराको हिमाली गाउँपालिकाले खाद्यसंकट टार्ने नयाँ योजना लागू गरेको छ । सुदुरपश्चिम प्रदेशको दुर्गम जिल्ला बाजुराका ९ वटा स्थानीय तहमध्ये पनि सबैभन्दा दुर्गममा पर्ने हिमाली गाउँपालिकाले पालिकाका नागरिकलाई आत्मनिर्भर बनाएर खाद्य संकट टार्ने दिर्घकालिन योजना ल्याएको हो ।
खाद्य सुरक्षाका लागि वृक्षारोपण कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए । अघिल्लो कार्यकालमा ३ वर्षअघि अध्यक्ष मल्लले यो योजनाको परिकल्पना गरेका थिए । अहिले पालिकाले नीति नै बनाएर कार्यक्रम लागू गरेको छ ।
खेतियोग्य जमिन पर्याप्त नभएको तर फलफुल तथा जडिबुटी मनग्य हुने हिमाली गाउँपालिकाका सबै वडामा माटोपरिक्षण गरेर वृक्षारोपण गर्न थालिएको छ ।
अहिलेसम्म करिक ८० हजार फलफुलका विरुवा रोपिएको छ । त्यसमध्ये ४० हजार फलफुलका विरुवाले आम्दानी यसैवर्षबाट दिन थालेको अध्यक्ष मल्लको भनाई छ । ‘मैले पहिलो कार्यकालमा थुप्रै रचनात्मक काम थालेँ त्यसमध्येको नागरिकलाई आत्मनिर्भर बनाउन र खाद्य संकट टार्न विशेष योजना लागू गराएको छु’ अध्यक्ष मल्लले अनलाइनसरोकारसँग भने, ‘माटोपरीक्षण गराएर जहाँ जे उत्पादन हुन्छ त्यहाँ त्यहि फलफुलका विरुवा पालिकाले नै उपलब्ध गराउँदै आएको छ । यो कार्यक्रममा सबै नागरिक अनिवार्य सहभागी हुनुपर्छ ।’ यो कार्यक्रमबाट आयस्रोत बढाएर अबको ५ वर्षभित्र करिब ६० प्रतिशत नागरिक आत्मनिर्भर बन्ने उनको दावी छ । अध्यक्ष मल्लले १ घरले वार्षिक १० लाख बराबरको फलफुल र जडिबुटी बेचेर आम्दानी गर्नसक्ने उनको भनाई छ ।
हिमाली गाउँपालिकामा बसोबास गर्ने सबै नागरिकले वर्षमा ५ वटा फलफुलका विरुवा आफ्नो बारीमा अनिवार्य रोप्नुपर्नेछ । ति विरुवा गाउँपालिकाले निःशुल्क उपलब्ध गराउने छ । आफुले रोपेका फलफुलका विरुवा संरक्षण गरेवापत गाउँपालिकाले प्रतिव्यक्ति वार्षिक ५ केजी चामल दिन थालेको छ । चामल पाउने भएपछि उत्साहित भएर स्थानीयहरुले फलफुलका विरुवारोप्न थालेका छन् ।