काठमाडौं । कागेश्वरी नगरपालिकाका मेयर उपेन्द्र कार्कीले स्थानीय सरकार र सरोकारवालाको सहमति बेगर मुलपानी क्रिकेट मैदानको नामाकरण हुननसक्ने बताएका छन् । मुलपानी क्रिकेट मैदानको नाम ‘जयकुमार नाथ शाह मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदान’ राख्ने नेपाल क्रिकेट संघको निर्णय विरुद्ध उत्रिएका मेयर कार्कीले संघलाई निर्णय स्विकार्य नहुने भन्दै सच्याउन चेतावनी दिएका हुन् ।
‘मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरि जयकुमार नाथ शाह अन्तराष्ट्रिय क्रिकेट मैदान राखिएको कुरा प्रति हाम्रो गम्भिर ध्यानकार्षण भएको छ । यसरी मुलपानी र कागेश्वरी मनोहरा को नाम मेटाउने प्रयास कोहि कसैबाट भएमा हामीलाई स्वीकार्य हुने छैन ।’ मेयर कार्कीले भनेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत वडा नं. ६ मा रहेको माथिल्लो क्रिकेट रंगशालाको नाम नेपाल क्रिकेट संघको मिति २०८० बैशाख १५ गते बसेको केन्द्रीय कार्य समितिको बैठकले नामकरण गरी ‘जयकुमार नाथ शाह मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदान’ JKNS – Mulpani International Cricket Ground राख्ने निर्णय गरेको थियो ।
उक्त निर्णय सच्याउन नगरप्रमुख कार्कीले संघलाई पत्राचार गरेका थिए । कुनै हालतमा संघले राखेको नाम नस्विकार्ने नगरप्रमुखको पत्रमासंघले स्थानीय सरकार र सरोकारवालासँग वार्ता गरेर नाम संशोधन गर्न सकिने जवाफ पठाएको छ ।
मुलपानी क्रिकेट मैदानको नामाकरणका विषयमा संघले सकारात्मक जवाफ पठाएकाले अब सहमतिमा नाम टुङ्गो लाग्ने मेयर कार्कीले बताए । ‘नगरपालिका साथै स्थानीयवासी, खेलप्रेमी, राजनैतिक दल एवम् सम्पूर्ण सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षणलाई सम्बोधन गर्दै नेपाल क्रिकेट संघले मैदानको नामकरण सम्बन्धमा छलफल गर्ने प्रतिवद्धतासहितको पत्र पठाएको छ ।’ मेयर कार्कीले अनलाइन सरोकारसँग भने, ‘अब स्थानीय राजनीतिक दलका नेतागण, बुद्धिजीवी, भद्र भलादमी, स्थनीय युवा, स्थानीय क्रिकेट प्रेमीहरु तथा अन्य स्थनीय सरोकारवालाहरुसंग आवश्यक छलफल गरी सहमतिमै मुलपानी अन्तराष्ट्रिय क्रिकेटको नामकरण गरिने छ ।’ नेपाल क्रिकेट संघले क्रिकेट खेलाडी एवम् नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष जयकुमार नाथ शाहको नाम जोडेर मुलपानी क्रिकेट मैदानको नाम राख्ने निर्णय गरेको थियो । क्रिकेट संघको निर्णयले कागेश्वरी क्षेत्रका विशेषगरी मुलपानीका स्थानीय सरोकारवाला रुष्ट बनेका थिए ।
को हुन् मुलपानी क्रिकेट मैदानमा नाम जोडिएका जयकुमार नाथ शाह ?
नेपाली क्रिकेटको विकासका लागि उल्लेख्य योगदान दिएको मानिने शाहले राष्ट्रिय क्रिकेट टोलीको कप्तानी समेत सम्हालेका थिए ।
शाह क्यानको अध्यक्ष रहँदा नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय सहभागिता शुरु गरेको थियो भने उनकै पालामा क्रिकेटका लागि भौतिक पूर्वाधारहरु पनि विकास गरिएको थियो ।
लगातार ४० वर्ष नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्ष रहेका शाहले २०६२ मा राजीनामा गरेका थिए । संघको नेतृत्वमा आउनुअघि उनी राष्ट्रिय खेलाडी थिए ।
उनी एशियाली क्रिकेट परिषद (एसीसी) को उपाध्यक्ष रहिसकेका थिए । शाहलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सन् २००३ मा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको थियो ।
शाहको २०७४ भदौ २१ गते मृत्यु भइसकेको छ ।