पञ्चवर्षिय योजना तय गरेर काम थालेका रामेछापको खाँडादेवी गाउँपालिकाका जनप्रतिनिधिले आगामी वर्ष शैक्षिक विकासको वर्षका रुपमा काम गर्ने भएका छन् । चालु आर्थिक वर्षमा कृषि क्षेत्रको विकास वर्षका रुपमा काम गरेको खाँडादेवीले आगामी वर्ष शैक्षिक वर्षको रुपमा काम गर्ने र शिक्षामा आमुल परिवर्तन गर्ने नीति गाउँसभाबाट पास गरेको हो ।
सामुदायिक विद्यालयको शैक्षिक विकास र गुणस्तर सुधारलाई मुख्य उद्देश्य बनाएर आउने वर्षलाई शिक्षा वर्षको रुपमा काम गर्ने नीति लिइरहेको गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए । ‘हामीले हाम्रो कार्यकालको पाँच वर्षलाई पाँच वटा मुख्य काम गर्ने वर्षको रूपमा विभाजन गरेका छौँ, त्यो अनुसार आउने वर्ष शिक्षाको वर्ष हो, त्यस पछिको वर्ष स्वास्थ्य वर्ष हुने छ’, श्रेष्ठले भने, ‘यो वर्ष सैद्धान्तिक रूपमा शिक्षाको वर्षका रूपमा मनाउने गाउँ सभाले निर्णय गरेको छ ।’ शिक्षाका पाँच वटा आधारभूत कुरालाई समेट्ने गरी गाउँ सभाबाट नीति पास भएका छ । आगामी वर्षका लागि शिक्षामा गाउँपालिकाले डेढ करोड बढी रकम छुट्याएको छ । योे कूल बजेटको १७ प्रतिशत रकम हो ।
खाँडादेवीले कृषिसहितका क्षेत्र र पूर्वाधार विकासमा थालनी गरेका कामलाई आगामी वर्ष निरन्तरता दिने भएको छ ।