गोकर्णेश्वर नगरपालिकाले युवालाई सीप सिकाएर स्वरोजगार बनाउने अभियान चलाएको छ । नगरक्षेत्रका बेरोजगार युवालाई सीप सिकाएर रोजगारी र व्यवसायमा प्रोत्साहन गरेको हो ।
युवालाई आत्मनिर्भर बनाउन सिप मार्फत समृद्धिको लक्ष्य राखिएको गोकर्णेश्वरका नगरप्रमुख दिपक रिसालको भनाई छ ।
नगरप्रमुख रिसालले चुनाव जितेलगत्तै ५ वर्षमा १ हजार युवालाई नगरपालिकाभित्रै व्यवसाय मार्फत स्वरोजगार र आत्मनिर्भर बनाउने उद्घोष गरेका थिए । ५ वर्षको लक्ष्य करिब १ वर्षमै पुरा भएको छ ।

भर्खरै १ महिने ड्राइभिङ तालिम सम्पन्न भएको छ । युवाहरु उत्साहित भएर तालिममा सहभागि भएका छन् ।
यसवर्ष गोकर्णेश्वरमा २५ वटा तालिम सञ्चालन भए । तालिमबाट करिब ७ सय जना दक्ष्य जनशक्ति उत्पादन भए । सीप सिकेका कति व्यवसायिक भएका छन् त कति रोजगारीमा लागेका छन् ।
विदेशिने तयारीमा रहेका युवालाई स्वदेशमै स्वरोजगार बनाउने र विदेश जाँदा पनि सिप सिकेर जाँदा राम्रो अवसर पाउने भएकाले स्थानीय सरकारले युवा लक्षित सिपमुलक कार्यक्रम सञ्चालनमा जोड दिएको छ ।
तालिम कार्यक्रमहरु महिला लक्षित छन् । महिलाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउन नगरपालिकाले महिलालाई प्राथमिकता दिइरहेको छ । महिलाहरुले सिकेको सीप सदुपयोग गरेर आत्मनिर्भरता तर्फ अग्रसर बनेको सेवाग्राही कमल पराजुलीको भनाई छ ।
स्थानीय सरकारबाट सीप र स्रोत साधनसँगै व्यवसायमा आर्थिक तथा प्राविधिक सहयोग पाएपछि सेवाग्राही निकै खुसी छन् । आधारभुत तालिम निकै फलदायि भएको र आगामी दिनमा पनि क्षमता विकासका कार्यक्रमहरु थप सञ्चालन गनुपर्ने स्थानीय प्रिन्स लामा बताउँछन् ।
गोकर्णेश्वरले नागरिकता, बसाइसराई र मतदाता परिचयपत्रका आधारमा नगरक्षेत्रमा बसोबास गर्ने इच्छुक नागरिकलाई विभिन्न विषयका तालिम दिइरहेको छ । आगामी वर्षपनि नागरिकलाई सीप र समृद्धीसँग जोड्ने तालिम कार्यक्रमलाई प्राथमिकता दिने नगरपालिकाको नीति छ ।