२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा काेराेनाबाट ५० लाखभन्दा बढी संक्रमित



अनलाइन सराेकार

काठमाडौं – विश्वमा महामारीको रुप लिएको कोभिड–१९ संक्रमितको संख्या ५० लाख कटेको छ । गत २४ घन्टाको अन्तर एकै दिन १ लाख ६ हजारले बढेर कुल संक्रमितको संख्या ५० लाख ९२ हजार ३४ पुगेको छ । गत २४ घन्टाको वृद्धि अहिलेसम्मकै बढी हो ।

यस्तै कोरोनाकै कारण विश्वमा बिहीबार मध्याह्नसम्म ३ लाख २९ हजार ७ सय ६८ जनाले ज्यान गुमाइसकेका छन् भने उपचारबाट निको भई २० लाख २६ हजार १ सय ७८ घर फर्किसकेका छन् । विश्वमा संक्रमितको संख्या बढेसँगै मृत्यु हुने पनि दिनदिनै बढिरहेका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा अहिलेसम्म १५ लाख ९३ हजार ३९ व्यक्तिमा संक्रमण पुष्टि भएको छ । यस्तै त्यहाँ ९५ हजार हाराहारीले ज्यान गुमाइसको छन् ।

रुसमा संक्रमितको संख्या तीन लाख ८ हजार तथा ब्राजिलमा दुई लाख ९३ हजारभन्दा बढी पुगेको छ । बेलायतमा ३५ हजार ७८६, इटालीमा ३२ हजार ३३०, फ्रान्समा २८ हजार १३५ तथा स्पेनमा २७ हजार ८८८ जनाको ज्यान गएको छ ।

यस्तै नेपालको छिमेकी राष्ट्र भारतमा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या १ लाख १२ हजार नाघिसकेको छ । गत २४ घण्टामा भारतमा ५ हजार ६०९ जना कोरोना भाइरस संक्रमित थपिएका हुन् । यसैसँगै भारतमा बिहीबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख १२ हजार ४४२ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पुष्टि गरेको छ ।

बिहीबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार ४३८ जना पुगेको छ । संक्रमणबाट निको भएका बिरामीको संख्या ४५ हजार ४२२ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा ६३ हजार ६२४ जना कोरोना संक्रमित उपचाररत छन् ।

भारतमा करिब दुई महिनायता कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी छ । संक्रमण क्रम नरोकिएपछि भारतले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारतले जनाएको छ ।

विगत केही दिनयता भारतमा कोरोना संक्रमितको संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । भारतमा विगत केही दिनयता संक्रमणको बृद्धिदर उच्च देखिएको छ ।एजेन्सी

याे पनि पढ्नुहाेस्

https://onlinesarokar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a5%87%e0%a4%b0%e0%a4%be%e0%a5%87%e0%a4%a8%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%bf/

प्रकाशित मिति : २०७७, ८ जेठ बिहीबार ००:००  १ : ०४ बजे