२०८३, १९ बैशाख शनिबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कक्षा १२ को परीक्षा दसैंअघि हुने ‘एसइईजस्तो आन्तरिक मूल्यांकनबाट नहुने’



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दसैँअगाडि नै सञ्चालन गर्ने गरी सरकारसँग अनुमति मागेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई पत्राचार गर्दै बोर्डले दसैँअघि नै परीक्षा गर्ने अनुमति मागेको हो।

‘हाम्रो जोड दसैंअघि नै परीक्षा लिने भन्ने छ,’ बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने, ‘परिस्थिति सहज भए पूरानै तरिकाबाट परीक्षा लिने, कोरोना महामारी यस्तै भइरहेमा कसरी परीक्षा लिने भन्ने विभिन्न विकल्पको खोजि भइरहेको छ।’ यसपाली दसैं कात्तिकमा छ।

विद्यार्थीको एक शैक्षिक सत्र खेर जान नदिन र उपल्लो तहको शिक्षाका लागि बाटो खोल्नका लागि पनि अब ढिला नगरी परीक्षा गर्नुपर्ने बोर्डको भनाइ छ।

सरकारले अनुमति दिएमा पूर्वसूचना दिएर परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ। उनले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जस्तो आन्तरिक मूल्यांकनबाट कक्षा १२ को परीक्षा नहुने प्रष्ट पारेका छन्।

वैशाखमा तय भएको कक्षा १२ को परीक्षा कोरोना महामारीले स्थगित भएको थियो।

स्थगित कक्षा ११ को परीक्षा भने विद्यालयबाटै सञ्चालन हुने गरी यसअघि बोर्डले अनुमति दिइसकेको छ।

स्थगित कक्षा १० को परीक्षा भने आन्तरिक मूल्यांकनबाट भइसकेको छ।

प्रकाशित मिति : २०७७, १६ भदौ मंगलबार ००:००  ५ : ३३ बजे