अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सत्ता परिवर्तन गरिनुपर्ने बताएका छन् ।
ट्रम्पले सोमबार बिहान आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै वर्तमान सरकारले इरानलाई महान् बनाउन नसक्ने बताएका हुन् ।
उनले लेखेका छन्, ‘सत्ता परिवर्तनको कुरा राजनीतिक रूपमा ठिक मानिँदैन। तर वर्तमान इरानी सरकारले इरानलाई फेरि महान् बनाउन सक्षम छैन भने किन सत्ता परिवर्तन नगर्ने ? इरानलाई फेरि महान् बनाउनुहोस् ।’
यद्यपि आइतबार आयोजित पत्रकार सम्मेलनमा अमेरिका रक्षामन्त्री पिट हेगसेथले इरानका आणविक अड्डाहरूमा गरिएको आक्रमण शक्ति परिवर्तनको लागि नभएको बताएका थिए ।
उनले भनेका थिए, ‘यो मिसन शक्ति परिवर्तनका लागि होइन । न त अहिले त्यस्तो कुनै नै उद्देश्य छ ।’
उता अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले आइतबार एबीसी न्युजसँग भनेका थिए, ‘सबैभन्दा पहिले हामी शक्ति परिवर्तन चाहँदैनौँ । केवल हामी इरानको आणविक कार्यक्रम समाप्त गर्न चाहन्छौँ ।’
अमेरिकाले शनिबार राति इरानका तीन आणविक अड्डा फोर्डो, नातान्ज र इस्फहानमा आक्रमण गरेको थियो।तर इरानले यसबाट कुनै ठूलो क्षति नभएको दाबी गरेको छ।
इरानमा अहिले अयातोल्लाह अली खामेनी सर्वोच्च नेता छन् । खामेनी तीन दशकभन्दा बढी समयदेखि इरानका राष्ट्र प्रमुख छन् ।











