काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार रातीबाट सकिएको छ । कार्यकाल सकिएपछि राष्ट्रपति भण्डारी नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई शपथग्रहणमा सहभागी भएर निवास शीतलनिवास छाडने तयारीमा छिन् ।
लोकतान्त्रिक गणतन्त्र नेपालका लागि पहिलो पटक २०७२ साल कार्तिक ११ गते नेपालको व्यवस्थापिका संसदबाट राष्ट्रप्रमुखमा निर्वाचित भएकी भण्डारी पुनः २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन् ।
दोस्रो पटक भएको राष्ट्रपति निर्वाचनमा भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गरेकी थिइन् भने भण्डारीकी प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरेकी थिइन्।
उनी नेपालको संविधान घोषणा भएपश्चात् निर्वाचित हुने पहिलो राष्ट्रपति हुन् भने मुलुकको सर्वोच्च पदमा निर्वाचित हुने पहिलो नेपाली महिला पनि हुन् ।
भण्डारी दुई कार्यकाल राष्ट्रपति बन्ने पहिलो र एकमात्रै महिला मात्रै होइनन्, तत्कालीन अवस्थामा राष्ट्रप्रमुखका रूपमा देशको नेतृत्व गर्ने विश्वकै २६औं महिला पनि हुन ।
राष्ट्रपति पौडेलले आज शपथ ग्रहण गर्दै
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि दिउँसो १ बजे शीतल निवासमा विशेष समारोहको आयोजना गर्दैछ ।
नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।
नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुहुने जनाइएको छ ।
पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।
संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।
नेपालमा विसं २०६२/६३ को आन्दोलनको उपलब्धिका रूपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो ।
राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।