खोटाङको केपिलासगढी गाउँपालिका तोरीको तेलमा आत्मनिर्भर बन्दैगएको छ । व्यावसायिकरूपमा तोरी उत्पादन गर्ने किसानलाई गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग दिएर प्रोत्साहन गर्नथालेपछि किसान उत्साहित भएर तोरी खेतीमा लागेका हुन् ।
केपिलासगढीलाई तोरीको तेलमा आत्मनिर्भर बनाउने गाउँपालिकाको नीति छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा आर्थिक विकास अन्तरगत कृषि तथा पशुपालनको शिर्षकको पहिलो बुँदामा तोरीको तेल उत्पादन र प्रवद्र्धन गर्ने उल्लेख छ ।
तोरी तेलमा पालिकालाई आत्मनिर्भर बनाउन कृषकहरुलाई तोरी खेतीमा अनुदान प्रदान गर्ने, बेसार, अदुवा, लसुन, प्याज, अकबरे खुर्सानी, टमाटर, आलु लगायत अन्य तरकारीहरुको उत्पादन वृद्धि गर्ने नीति ल्याइएको गाउँपालिका अध्यक्ष समिर राईले बताए । गाउँपालिकाको गौरवको योजनाको रुपमा रहेको तोरी खेतीलाई थप प्रवद्र्धन गर्न किसानलाई अनुदान र पुरस्कारदिने कार्यलाई निरन्तरता दिने र तोरीको तेल प्रसोधन र प्याकेजिङका लागि पालिकाले मेसिनको व्यवस्था गर्ने अध्यक्ष राईले अनलाइनसरोकारसँग बताए । ‘केपिलासगढी अर्गानिक पालिका हो, हामी स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै स्थानीय उत्पादनमा आत्मनिर्भर पालिका बनाउँछौं ।’ अध्यक्ष राईले भने, ‘कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका छौं । कृषिमै किसानलाई आत्मनिर्भर बनाउने र कृषि मार्फत नै केपिलासको समृद्धि खोज्ने हाम्रो लक्ष्य हो । अहिले तोरीको तेललाई ब्राण्डीङ गर्दैर्छौ, अनुदान र पुरस्कार दिएर प्राेत्साहन गरिरहेका छाैं ।’ रकम पाएपछि किसान उत्पाहित भएर तोरी खेतीमा लागेका छन् ।
तोरी खेती प्रोत्साहनका लागि तयार गरिएको अनुदान कार्यक्रमअन्तर्गत गाउँपालिकाबाट अनुदान पाउन किसानले कम्तीमा तीन रोपनी जग्गामा तोरी खेती लगाउनुपर्ने वा कम्तीमा दुई मुरी तोरी उत्पादन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । गाउँपालिकाका प्रमुख संयोजक रहेको अनुगमन तथा मुल्याङ्कन समितिको सिफारिसका आधारमा कृषक, कृषि फार्म र कृषक समूहलाई बैङ्क खातामा अनुदान उपलब्ध गराइने भएको छ ।
कम्तीमा तीन रोपनी वा सोभन्दा बढी जग्गामा तोरी खेती लगाउने किसानलाई प्रतिरोपनी एक हजार र कम्तीमा दुई मुरी वा सोभन्दा बढी तोरी फलाउने किसानलाई प्रतिमुरी दुई हजार ५०० का दरले अनुदान उपलब्ध गराउने गरिएको छ । गाउँपालिकाबाट अनुदान पाउनका लागि कम्तिमा तीन रोपनी जग्गामा तोरी खेती लगाउनुपर्छ अथवा कम्तिमा दुई मुरी तोरी उत्पादन गर्नुपर्छ ।
तीन रोपनीभन्दा थोरै जग्गामा दुई मुरीसम्म तोरी उत्पादन गर्ने किसानले पनि अनुदान पाउने गाउँपालिकाले जनाएको छ । जग्गाको क्षेत्रफलको आधारमा अनुदान लिने की तोरी उत्पादन गरेर मुरीको आधारमा अनुदान लिने भन्ने निर्णय किसानले नै गर्नेछन् । गाउँमा खपत भएपछि बाँकी रहेको तोरीको तेल निर्यात गर्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ ।
सात वडा रहेको केपिलासका सबैजसो ठाउँमा तोरी खेती हुने कृषि शाखाले जनाएको छ । कतिपय किसानले तेलकै लागि पनि तोरी खेती लगाउने गरेका छन् ।
रासायनिक मल निषेध गर्ने, प्राङ्गारिक मल उत्पादन गर्ने र सबै वडालाई अर्गानिक वडा घोषणा गर्ने केपिलासगढीको तयारी छ ।
वडा नम्बर १ को फेदिमा हुँदै आएको चियाखेतीलाई निरन्तरता दिने र वडा नम्बर ७ को सुङदेल लगायतका स्थानमा चियाखेतीको सम्भाव्यता अध्ययन गरेर खेती विस्तार गरिने भएको छ ।