२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इजरायली प्रधानमन्त्री नेतन्याहुकाे हत्या प्रयास



लेबनानको भूमिबाट इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासतर्फ ड्रोन हमला भएको छ । इजरायलका प्रधानमन्त्री नेतन्याहुले आफ्नो हत्या गर्ने कोसिसमा हेजबुल्लाहले ड्रोन प्रहार गरेको भन्दै यसको महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

बीबीसीका अनुसार नेतन्याहुको एउटा घर समुद्र किनारमा रहेको सिजेरिया शहरमा छ । अर्को घर राजधानी जेरुसेलममा छ । जेरुसेलमकै बेत अघियोन भन्ने स्थानमा प्रधानमन्त्रीको सरकारी निवास छ । हाल यसको प्रबलीकरणको काम भइरहेको छ ।

लेबनानको तर्फबाट शनिबार भएको ड्रोन प्रहार नेतन्याहु घर भएको सिजेरिया शहरमा हो । इजरायली सेनाका अनुसार लेबनानको तर्फबाट ५५ वटा ड्रोन प्रहार भएका थिए । तीमध्ये तीनवटा मानवरहित ड्रोन इजरायली भूमिमा प्रवेश गरेका थिए । ती तीनमध्ये एउटा ड्रोन सिजेरिया शहरको एक भवनमा ठोक्किएको थियो ।

त्यो समयमा नेतन्याहु सिजेरियाको घरमा थिएनन् । प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आक्रमणको बेला प्रधानमन्त्री र उनकी पत्नी त्यहाँ थिएनन् । र, यस आक्रमणबाट कोही घाइते पनि भएका छैनन् ।’

प्रधानमन्त्री नेतन्याहुले भने सामाजिक सन्जाल एक्समा लेखेका छन्, ‘इरानको प्रोक्सी हिजबुल्लाहले मेरो र मेरी पत्नीको हत्याको कोसिस गरेर ठूलो गल्ती गरेको छ ।’

उनले यसबाट आफ्ना शत्रुहरुविरुद्धको युद्ध नरोकिने पनि उनले बताएका छन् । उनले भनेका छन्, ‘म इरान र उसको प्रोक्सीलाई भन्न चाहन्छु, जसलाई हामीलाई क्षति पुर्‍याउने कोसिस गर्छ, उसले ठूलो मूल्य चुकाउनुपर्छ । हामी आतंकवादीलाई अन्त्य गर्ने अभियान जारी राख्ने छौं र बन्धक बनाइएकाहरुलाई घर फिर्ता ल्याउने छौं ।’ उनले इजरायलले जित हासिल नगरेसम्म युद्ध जारी राख्ने पनि बताएका छन् ।

लेबनानको तर्फबाट आक्रमण भएपछि इजरायलले पनि त्यहाँ आक्रमण जारी राखेको बीबीसीले जनाएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार राजधानी बेरुतको उत्तरतर्फ पर्ने जोनिया भन्ने ठाउँमा इजरायलले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०८१, ४ कार्तिक आइतबार ००:००  ९ : २८ बजे