२०८१, ७ कार्तिक बुधबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमतीका मन्त्री तीर्थ लामाको स्पष्टोक्ति: ‘सुन तस्करीमा मेरो संलग्नता छैन, छानबिन होस्’



बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री तीर्थबहादुर लामाले सुन प्रकरणमा आफ्नो संलग्न नरहेको स्पष्ट पारेका छन् । एक किलो सुन प्रकरणमा आफ्नो नामसमेत जोडिएको भन्दै मन्त्री लामाले आफु उक्त प्रकरणमा संलग्न नरहेको तर विरोधीहरुले नाम जोडेर चरित्र हत्या गरेको भन्दै आपत्ति जनाएका हुन् ।

प्रदेश सभामा नेकपा एमालेका सांसदहरुले उक्त प्रकरणमा मन्त्री लामाको नाम जोडिएको भन्दै जवाफ मागेका थिए । विभिन्न मिडियाहरुमा पनि मन्त्री लामाको नाम जोडेर समाचारहरु सार्वजनिक भएका छन् ।

सञ्चारमाध्यममा आएका समाचार र सामाजिक सञ्जालमा आएका टिप्पणी तथा विपक्षी दलले सदनमा उठाएका सवालको खण्डन गर्दै मन्त्री लामाले उक्त प्रकरणमा आफ्नो संलग्नला नरहेको स्पष्ट पारेका हुन् ।

बागमती प्रदेश सरकारका मन्त्री र नेपाली कांग्रेस जिल्ला समिति काभ्रेको सभापतिको हैसियतमा आफ्नो धेरै जनसम्पर्क हुने भन्दै उनले कुनै प्रसंगमा कसैले खिचेको तस्वीरका कारण आफ्नो नाम जोड्नु गलत हुने तर्क गरेका छन् ।

एक किलो सुन प्रकरणमा काभ्रेका तरुण दलका नेता विकास लामा प्रहरीको खोजी सूचीमा परेका छन् । उनको गाडी प्रहरीले बरामद गरेको छ । विकाससँग सम्बन्ध रहेको भन्दै आफ्नो नाम जोडिएकामा नेता तीर्थबहादुर लामाले आपत्ति जनाएका हुन् । ‘मलाई विवादमा ल्याउन चाहने निकृष्ट मानसिकता र दुराशयका साथ भएका यस्ता कार्यप्रति म सचेत छु । निर्दोष हुँदा हुँदै पनि मेरो नाम जोडेर चरित्र हत्या गर्न खोजियो त्यसो नगर्न म आग्रह गर्दछु ।’ उनले भने, ‘उक्त घटनाको सत्यतथ्य छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गर्दछु । छानबिनका लागि म सहयोग गर्छु ।’ मन्त्री लामाले राजनीतिक प्रतिशोधका कारण अनुमान र हल्लाका भरमा नेता र नेतृत्व विरुद्ध भ्रम सिर्जना नगर्न सचेत गराएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेका सचिवद्वय गुणराज मोक्तान र माधव ढकालले पनि विज्ञप्तिमा जारी गरी एक किलो सुन प्रकरणमा पार्टी सभापतिको नाम जोडिएकामा आपत्ति जनाएका छन् । उनीहरुले पनि घटना छानबिनको माग गरेका छन् ।

प्रकाशित मिति : २०८०, ३० भाद्र शनिबार ००:००  ९ : २२ बजे