२०८१, ७ कार्तिक बुधबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई महालक्ष्मी नगरको भगिनी सम्बन्ध प्रगाढ : उत्पादन बजारीकरण गर्ने समझदारी



धनकुटा र ललितपुरका एउटै नाम गरेका दुई नगरपालिकाले भगिनी सम्बन्ध प्रगाढ बनेको छ । धनकुटाको महालक्ष्मी नगरपालिका र ललितपुरको महालक्ष्मी नगरपालिका बीच २०७८ चैत्रमा कायम भएको भगिनी सम्बन्धलाई नयाँ जनप्रतिनिधिले थप प्रगाढ बनाएका हुन् ।

गाउँ र शहरका दुई नगरपालिका बीचको भगिनी सम्बन्धलाई दिगो र थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । भगिनी सम्बन्ध सुदृढ बनाउन महालक्ष्मी नगरपालिका धनकुटाको निमन्त्रणामा ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्षहरुसहितको टोलीले धनकुटा आएको थियो ।

विहिबार जितपुरमा दुई नगरपालिकाका जनप्रतिनिधिहरु बीच असल अभ्यास र अनुभव आदानप्रदान भएको थियो ।

नीति कार्यक्रम र बजेट तुर्जमा, स्थानीय सरकार सञ्चालन ऐन अनुसार कार्यविधि निर्माण, विकास निर्माण प्रकृया, कृषि आधुनिकीकरण, व्यवसायिकरण, पर्यटन प्रवद्र्धनलगायतका सवालमा बृहत छलफल भएको छ ।

कार्यक्रममा दुवै नगरपालिकाले उत्पादनको बजारीकरण गर्ने समझदारी गरेका छन् । भगिनी सम्बन्ध विस्तार दर्ता विभिन्न ११ बुँदे प्रतिवद्धतासहितको सम्झौता भए अनुरुपका गतिविधि गर्ने र तत्कालका लागि स्थानीय उत्पादनको बजारीकरणमा दुवै नगरपालिकाले एक अर्कालाई सहयोेग गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

धनकुटाको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायाले भगिनी सम्बन्धले स्थानीय सरकारहरुबीच सौहार्दता कायम भएको र कला, संस्कृति र सम्पदाको शहर ललितपुरको महालक्ष्मी नगरसँग दूरदराजको महालक्ष्मी नगरले भगिनी सम्बन्ध गाँसेर विकास र रुपान्तरणमा समेत साझेदारी गर्ने अवसर मिलेको बताए । नगरप्रमुख रायले कृषि उत्पादनका हिसाबले धनकुटामा महालक्ष्मी नगरपालिका अब्बल रहेपनि बजारीकरणको समस्या रहेकाले उत्पादन साटासाट गर्ने प्रस्ताव गरेका थिए । ‘हामी उत्पादनमा अब्बल छौं तर बजारीकरणमा समस्या छ । कृषि व्यापारका लागि सहयोग गर्न भगिनी नगरपालिकालाई अनुरोध गर्दछु ।’ उनले भने, ‘उत्पादन खेर जाने समस्या मात्रै समाधान गरेर किसानलाई उत्पादनको मूल्य दिनसक्दा धनकुटाको महालक्ष्मी नगरपालिका छिट्टै समृद्ध बन्ने छ ।’ सिमित स्रोतले असिमित माग र आवश्यकता पुरा गर्नुपर्ने दायित्व रहेको उनको भनाई थियो ।

ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले धनकुटाको महालक्ष्मीमा उत्पादन भएको तरकारी, फलफुल र जडिबुटी ललितपुरको महालक्ष्मी नगरपालिकाले बजारीकरण गर्ने बताए । ‘यहाँ यत्तिधेरै कृषि उत्पादन हुुने रहेछ । यहाँको आलु हामी किन्छौं ललितपुर पठाउने वातावरण मिलाउँ । अरु यहाँ उत्पादन भएका रुद्राक्ष, काउलीसहित सबै सामाग्रीको बजारीकरण शहरमा हामी गर्छौ ।’ उनले भने, ‘हाम्रो ललितपुरको महालक्ष्मीमा पनि कपडा उत्पादन हुन्छ । परालका सामाग्रीहरु बन्छन् । त्यसलाई यहाँकोे नगरपालिकाले प्रवद्र्धन गरोस् । दुवै तिरका नागरिकलाई आत्मनिर्भर बनाऔं । व्यवसाय प्रवद्र्धन गरौं ।’ उनले  ललितपुरको महालक्ष्मी नगरपालिकाले धनकुटाको महालक्ष्मी नगरपालिकाले अघि सारेका महत्वकांक्षी योजनामा साझेदारी गर्ने प्रतिवद्धता जनाए ।

ललितपुरको महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनले भगिनी सम्बन्ध कायम गरेका दुवै नगरपालिका एकै हुन् भन्ने भावका साथ एकतावद्ध भएर साझेदारीमा काम गर्नुपर्नेमा जोड दिइन् । अतिथिलाई स्वागत गर्दै धनकुटाको महालक्ष्मी नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारीले भगिनी सम्बन्ध कायम गर्दा सहमति गरेका बुँदामा रहेर रचनात्मक सहकार्य गर्दै नागरिकले महसुस गर्नेगरी काम गर्नुपर्ने बताइन् ।

एक अर्कालाई दोहोरो सहयोग गर्ने प्रतिवद्धता जनाएका जनप्रतिनिधिहरुले स्थानीय उत्पादनकै सामाग्रीहरु मायाको चिनोका रुपमा साटासाट गरेका थिए । ललितपुरका जनप्रतिनिधिले आफ्नो स्थानीय तहमा उत्पादन भएको पस्विनाको सल र खोस्टा परालको सोफा धनकुटाका जनप्रतिनिधिलाई दिएका थिए । धनकुटाका जनप्रतिनिधिले महालक्ष्मीको रुद्राक्षका माला, गाउँमै बनाएको मायाँको चिनो हस्तान्तरण गरेका थिए ।

दुवै नगरपालिकाका जनप्रतिनिधि एकै ठाउँमा बसेर वृत्तचित्र मार्फत दुवै नगरपालिकको वस्तुगत वर्तमान अवस्था, आएको परिवर्तन र आगामी योजना तथा सम्भावनाका विषयमा जानकारी लिएका छन् ।

भगिनी सम्बन्धमा रहेका नगरपालिका बीचको असल अभ्यास तथा सफल अनुभव आदानप्रदानले उर्जा थपेको धनकुटाको महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलकण्ठ विश्वकर्माले बताए ।

ललितपुरको महालक्ष्मी नगरपालिकाले धनकुटाको महालक्ष्मीका जनप्रतिनिधि र सरोकारवालालाई दशैं तिहारको बीचमा ललितपुर आउन निमन्त्रणा दिएको छ ।

प्रकाशित मिति : २०८०, ११ आश्विन बिहीबार ००:००  ११ : १५ बजे