सिन्धुलीको तीनपाटन गाउँपालिकाले कृषि क्षेत्रलाई व्यवसायिक र यान्त्रीकरण गर्न थालेको छ । पालिकाले परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई सुधार गर्दै सामुहिक तथा व्यवसायिक खेती प्रवद्र्धन र कृषिको यान्त्रीकरणमा जोड दिएको हो ।
किसानको आयस्रोत बढाउन कृषि र पशुपालनमा लगानी गरिरहेको तीनपाटन गाउँपालिकाले कृषि मार्फत नै पालिकालाई समृद्ध बनाउने गरी काम गरिरहेको छ ।
व्यवसायिक कृषि प्रवद्र्धन र किसानका समस्या समाधानका लागि प्रत्येक वडामा १ जना कृषि र १ जना पशु विकासका प्राविधिक परिचालन गरिएको छ ।
विगतमा गोरु मार्फत खेतबारी जोत्ने र बाली लगाउँदा देखि भित्राउँदा सम्म झण्झटिलो तवरले काम गर्ने किसानलाई सहजता दिन कृषिको यान्त्रीकरण गर्दै ट्याक्टर, मेसिन र औजारसहितका प्रविधि पालिकाले हस्तान्तरण गर्न थालेको छ ।
संघियतापछि पालिकाको सहयोगमा तीनपाटन क्षेत्रको कृषिमा परिवर्तन आउन थालेको गाउँपालिका अध्यक्ष कर्णबहादुर मगरले अनलाइन सरोकारसँग बताए ।
तीनपाटनका सबै वडामा अन्नवाली, तरकारी र फलफुल उत्पादनको प्रचुर सम्भावना छ । पशुपालकका लागि चरिचरणको पनि प्रसस्तै ठाउँ छ ।
स्थानीय सरकारले साथ दिन थालेपछि किसानहरु व्यवसायिक कृषि र पशुपालनमा आकर्षित हुन थालेका छन् ।