२०८१, ७ कार्तिक बुधबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्रिकेट रंगशाला निर्माणमा बागमतीका अर्थमन्त्रीको पहल: काम सक्ने प्रदेश र महानगरकाे सहमति



चितवनमा निर्माणाधिन अवस्थामै अलपत्र गौतमबृद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सम्पन्न हुने भएको छ । धुर्मुस–सुन्तली फाउण्डेशनले काम सुरु गरेपनि काम पुरा गर्न नसक्दा अलपत्र परेको रंगशाला निर्माणको काम बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको लागत साझेदारीमा अघि बढाइने भएको हो ।

बागमतीका अर्थमन्त्री बहादुरसिंह लामाले अलपत्र रंगशाला निर्माण सम्पन्न गराउन पहल थालेका थिए । लामाकै पहलमा प्रदेश सरकार र महानगरबीच आज रंगशाला निर्माणको काम अघि बढाउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

धुर्मुस–सुन्तली फाउण्डेशनले केही समय अघि अर्थमन्त्री लामालाई भेटेर रंगशाला निर्माणको बाँकी काम अघि बढाउने नेतृत्वदायी भुमिका खेल्दिन आग्रह गरेको थियो । जवाफमा मन्त्री लामाले अर्थमन्त्रालयबाट स्रोत सुनिश्चित गराएर प्रदेश सरकारले उक्त रंगशालालाई गौरवको योजनाका रुपमा अघि बढाउने बताएका थिए । लामाले रंगशाला निर्माणको हालसम्मको हिसाबकिताब पारदर्शीक बनाउन र आगामी दिनमा विवादरहित तवरले योजना सम्पन्न गराउन सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकट्टेलको संयोजकत्वमा आज बसेको बैठकले प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा रंगशालाको काम अघि बढाउने निर्णय गरेको छ । बैठकले भरतपुर महानगरपालिकाले पहिलो चरणमा गर्नुपर्ने कामका लागि तयार गरेको लागत अनुमान रु ७५ करोड बराबरको काम लागत साझेदारीमा महानगरपालिकाले अघि बढाउने गरी निर्णय गरिएको हो ।

बैठकमा प्रदेश सरकारका अर्थमन्त्री बहादुरसिंह लामा, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख सचिव घनश्याम उपाध्याय महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानालगायतको उपस्थिति थियो ।

अब अहिले भइरहेको तल्लो तहको प्याराफिटको एक तहमाथि प्याराफिट निर्माण गरिने छ । मैदानको आकार मात्रै बनेको भन्दै उहाँले दुबो लगाउने र पिचको काम गरिने छ । खेलाडी बस्ने ठाउँ, पार्किङ व्यवस्थापन, भित्री सडकको व्यवस्थापनलगायतका काम यसै चरणमा हुनेछ ।

यसअघि बनेका संरचनालाई संरक्षण गर्दै खेल खेल्न मिल्ने गरी काम अघि बढाइने छ । दुई वर्षभित्रमा काम सम्पन्न हुने गरी ठेक्का सम्झौता मार्फत् काम अघि बढाउने तयारी छ ।

भरतपुर महानगरपालिका–१५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिएको दुई वर्षभन्दा बढी भएको छ । धर्मुस (सीताराम कट्टेल) सुन्तली (कुञ्जना घिमिरे) फाउण्डेसनले २० बिघा छ कठ्ठा जग्गामा निर्माण थालेको क्रिकेट रंगशालाको काम रकम अभावमा २०७८ साउन २० गते रोकिएको थियो। फाउण्डेसनले रंगशालाको स्वामित्व लिइदिन अनुरोध गर्दै भरतपुर महानगरलाई पत्र पठाए पनि हालसम्म निर्माणमा लागेको रु १८ करोड ४३ लाख ऋण कसले तिर्ने भन्ने टुङ्गो लाग्न सकेको छैन ।

रंगशाला निर्माणमा हालसम्म फाउण्डेशनले रु ५७ करोड ९२ लाख ८५ हजार सात सय ३८ खर्च भएको जनाएको छ । त्यसमध्ये रु १८ करोड ४३ लाख ऋण छ । फाउण्डेशनले वक्यौता तिर्न बाँकी राखेर काम छाडेको थियो ।

प्रकाशित मिति : २०८०, २१ कार्तिक मंगलबार ००:००  ६ : ५३ बजे