जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलदेखि नयाँ बानेश्वर चोकसम्म ३० दिनलाई निषेधित क्षेत्र तोकेपछि समर्थन र विरोध जारी छ।
एकथरीले सम्भावित मुठभेड रोक्न प्रशासनले गरेको निर्णय सही भएको बताएका छन् भने अर्काथरीले भने ३० दिनसम्म माइतीघर मण्डलमा विरोध प्रदर्शन गर्न कसैले पनि नपाउने गरी भएको निषेधित क्षेत्र घोषणा संविधानविपरीत भएको बताएका छन्।
केही समययता एकआपसमा आरोपप्रत्यारोप र आक्रमणमा उत्रिएका नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले मंसिर माइतीघरमै गर्न लागेको प्रदर्शनमा मुठभेड हुने सम्भावना देखेर निषेधित क्षेत्र घोषणा गरेको भनेर धेरैले समर्थन गरेका हुन्।
तर काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक सिडिओ तथा प्रवक्ता रवीन्द्र आचार्यले भने यी दुई समूहको प्रदर्शन रोक्ने मात्र होइन यो ठाउँलाई निषेधित क्षेत्र तोक्नकै लागि सोमबार आदेश जारी गरिएको बताए।
जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिसको आधारमा सोमबारदेखि ३० दिनसम्मका लागि ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन लगायत विरोध प्रदर्शन गर्न निषेध गरेको हो।
दुर्गा प्रसाईं र नेकपा एमालेका नेता महेश बस्नेतबीच पछिल्लो समय आरोपप्रत्यारोप हुँदै आएको छ। यसैबीच एकैदिन कार्यक्रम हुँदा शान्ति सुरक्षामा समस्या आउने प्रशासनको चिन्ताको विषय बनेको थियो।
युवा संघले तीनकुनेमा र प्रसाईंले बल्खु क्षेत्रमा कार्यक्रम गर्ने तयारी गरेका छन्।