२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकीकृत समाजवादीमा नेपाल-खनाल खटपट



नेकपा एकीकृत समाजवादीले एमालेबाट अलग भएपछि पहिलो पटक माघमा गर्ने भनिएको महाधिवेशन सार्ने भएको छ । अध्यक्ष माधव नेपालले आगामी माघ १४ देखि १८ गतेसम्मका लागि तय भएको महाधिवेशन सार्नको लागि भोलि सचिवालय बैठक बोलाएका हुन् ।

अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनलाई महाधिवेशन सार्ने तयारी गरेका छन् । भोलि बस्ने सचिवालयको बैठकले नयाँ मिति टुंगो लगाउने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बस्ने सो बैठकमा अन्तरपार्टी निर्देशन (अपानि) मा नेताहरूको जिम्मेवारी हेरफेर, कार्य विभाजन र विभिन्न कमिटीमा मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने उनले बताए ।

यस्तै, केन्द्रीय कार्यालयका जीवनराम श्रेष्ठ पनि अहिलेसम्म महाधिवेशनबारे कुनै निर्णय नभएको बताए । भोलिको बैठकले महाधिवेशनबारे निर्णय लिने उनको भनाइ छ ।

तर, अध्यक्ष नेपालले महाधिवेशन सार्ने तयारी थालेपछि सम्मानित नेता झलनाथ खनाल सन्तुष्ट छैनन् । उनी माघमा हुने महाधिवेशनमा पार्टी नेतृत्वको दाबी गर्ने तयारीमा छन् ।

पार्टीभित्र अन्यौलता र विवादको कारणले नेकपा एस छाड्ने नेताहरू उल्लेख्य भएकाले महाधिवेशन गरिहाल्नुपर्ने पक्षमा उनी छन् । पछिल्लो समय नेकपा एस छाडेर अधिकांश नेताहरू एमालेमै फर्किएका छन् भने केही माओवादीसहित नयाँ दल रोजेका छन् ।

महाधिवेशनमा नेताहरूको उचित व्यवस्थापन र जिम्मेवारी दिन सके पार्टीमा नेताहरू जोगाउन सक्ने नेतृत्व पङ्क्तिको बुझाइ छ । त्यसैले अहिलेको अवस्थामा महाधिवेशन रोक्न नहुने उनको मत छ। तर, भोलि बस्ने बैठकले महाधिवेशन सार्ने वा नसार्ने भन्ने निर्णय गर्ने उनले बताए ।

उनले भने- महाधिवेशन सार्नुपर्ने खास कारण केही छैन । सार्नुपर्ने थियो भने यस्ता विषय पहिले नै थाहा हुनुपर्थ्यो । एकचोटी निर्णय गर्ने अनि फेरि सार्ने भनेपछि त्यो राम्रो कुरा होइन। केही साथीहरू त्यो ठाउँमा पुगेका छन् भन्ने सुन्दै छु। भोलि निर्णय होला ।

उनले पार्टीभित्र बसेपछि महाधिवेशन केन्द्रित गरेर नेतृत्व दाबी गर्ने तयारी थाल्नु स्वभाविक भएको बताए। तर, संस्थापन पक्ष अहिले माधव नेपालको विकल्प नखोज्ने पक्षमा छ ।

पार्टीभित्र माधव नेपालको दस्ताबेजमा फरक मत राख्दै नेतृत्वको तयारीमा झलनाथ जुटेपछि महाधिवेशनलाई धकेल्न खोजिएको बताइन्छ ।

अध्यक्ष नेपालले अब अर्को मिति कहिले तोक्ने भन्ने अहिलेसम्म नटुंगाएको उनी निकट नेताहरू बताउँछन् ।

त्यसो त महाधिवेशनलाई लक्षित गर्दै भदौ पहिलो साता बसेको निर्णय अनुसार नेताहरूको कार्य विभाजनसहितको सर्कुलर अध्यक्ष नेपालले जारी गर्दा पनि पार्टीभित्र विवाद चर्किएको थियो ।

अध्यक्ष नेपालको निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका खनाल पक्षको कडा आपत्तिपछि कार्यान्वयन रोक लगाइएको थियो । भोलिको बैठकमा त्यसबारे पनि छलफल हुने कार्यालय सचिव श्रेष्ठले बताए । तर, उनले त्यसबारे पार्टीभित्र सहमतिको आधारमा अघि बढ्ने समझदारी बनिसकेको जिकिर गर्छन् ।

भोलिको बैठकमा पार्टीको संरचना र सामर्थ्य विस्तारका लागि आवश्यक रणनीति, देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थितिबारे छलफल गरिने जनाइएको छ ।

बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी हेरफेर गरी सक्षमता र योगदानका आधारमा नेताहरूको जिम्मेवारी हेरफेरको तयारी गरेको छ ।

प्रकाशित मिति : २०८०, १७ मंसिर आइतबार ००:००  ३ : १३ बजे