२०८१, ७ कार्तिक बुधबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपतिसँग सभामुख रुष्ट



सभामुख देवराज घिमिरेले संसद्को महासचिव नियुक्तिको सिफारिस राष्ट्रपतिबाट रोकिनु अनुचित भएको बताएका छन् । महासचिव भरतराज गौतमको राजीनामापछि संविधान र कानुनबमोजिम प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेयको नाम सिफारिस गरेको जिकिर गर्दै उनले यसलाई राजनीतिक आँखाले हेर्न नहुने बताए । ‘यसलाई राजनीतिक आँखाले हेर्नुहुँदैन । कसलाई सिफारिस गर्‍यो भन्दा पनि संविधान र कानुनबमोजिम गरेको हो,’ संसद् सेवा दिवसका अवसरमा बिहीबार घिमिरेले भने, ‘महासचिव नियुक्तिको सिफारिस राष्ट्रपतिबाट रोकिनु अनुचित हुन्छ ।’

राष्ट्रिय सभा अध्यक्षको परामर्शमा सभामुखले गरेको सिफारिस राष्ट्रपतिले नियुक्त गर्नुपर्ने प्रावधान रहेको उल्लेख गर्दै घिमिरेले भने, ‘राजीनामा दिएर खाली भइसकेको छ । खाली भइसकेपछि कति पर्खिने, नियमअनुसार सिफारिस गरिएको छ । सिफारिस नियुक्ति त होइन नि ! सिफारिस राष्ट्रिय सभाको परामर्शमा म्यान्डेटरी हो । दुइटाले सिफारिस गरेकोमा राष्ट्रपतिले नियुक्त गर्नुपर्छ ।’

अहिले संसद्लाई नयाँ महासचिवको आवश्यकता रहेको भन्दै यो कुरालाई राष्ट्रपतिले नबुझिदिएको उनको गुनासो थियो । ‘कहिले गर्नुपर्छ भन्दा संसद्को अर्जेन्सीलाई ख्याल गरिदिनुपर्‍यो । संसद् सेवा दिवसको समारोहको सबै हेर्नुपर्ने महासचिवले नै हो । यसलाई नजरअन्दाज गरेर जानाजान संसद्को महत्वलाई कमजोर पार्न खोजिएको हो भन्ने लागेको छ,’ उनले भने ।

कार्यकाल सकिन लागेका राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सिफारिस गरेको भन्ने प्रश्नमा सभामुख घिमिरेले थपे, ‘उहाँको कार्यकाल २० फागुनसम्म हो । १९ गते राति १२ बजेसम्म बोल्ने, काम गर्ने अधिकार अध्यक्षलाई छ । तीन महिना बाँकी छ अध्यक्षको कार्यकाल । यसवेला उहाँले कामै नगर्ने भन्ने हुँदैन ।’

गत आइतबार संसद्का महासचिव गौतमले पदबाट राजीनामा दिएका थिए । भोलिपल्ट सभामुख र अध्यक्षले शीतलनिवास पुगेर पाण्डेयको नाम महासचिवमा सिफारिस गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गौतमको राजीनामा स्वीकृत गरेका छन् भने पाण्डेयको सिफारिसको कानुनअनुसार रित नपुगेको भन्दै अध्ययनमै छ । न्याय सेवाअन्तर्गत नायब महान्यायाधिवक्ता पदबाट राजीनामा दिएर पाण्डेय प्रतिनिधिसभा सचिव बनेका थिए । अहिले महासचिवमा सिफारिस हुँदा संसद् सेवाका कर्मचारी बाहिरबाट महासचिव बनाउन लागिएको भन्दै असन्तुष्ट छन् ।

प्रकाशित मिति : २०८०, २९ मंसिर शुक्रबार ००:००  ११ : ३५ बजे