२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री विरुद्ध संघर्ष गर्ने कोशीका मुख्यमन्त्रीको चेतावनी



कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधान प्रदत्त अधिकार केन्द्रले हस्तान्तरण नगरे सङ्घर्षमा उत्रिने चेतावनी दिएका छन् । सुनसरीको भोक्राहा नरसिंगमा निर्माण गरिएको ४०० केभीएको विद्युत प्राधिकरणको सबस्टेशन उद्घाटनमा मुख्यमन्त्री कार्कीले प्रदेशलाई संविधानले दिएको अधिकार चाँडो हस्तान्तरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।

‘संविधानमा पाएको अधिकार हस्तान्तरण गरी तीनै तहको सरकारलाई सहकार्यका साथ काम गर्ने वातावरण बनाइदिन प्रधानमन्त्रीज्यूलाई आग्रह छ’, उनले भने, ‘अधिकार हस्तान्तरण नगरिदिए सदन र सडकबाट संघर्ष गर्छु ।’

मुख्यमन्त्री कार्कीले विद्युतकै सन्दर्भमा प्रदेशले अधिकार नपाएको गुनासो गरे ।

‘संविधानले तोकेको २५ मेगावाटसम्मको विद्युत प्रदेशले नै उत्पादन गर्न सक्ने र लाइसेन्स दिन सक्ने अधिकार छ । त्यो हामीले पाउनु पर्नेछ’, उनले भने, ‘त्यसका लागि संघीय सरकार र संघीय संसदसँग सहकार्य र संघर्ष दुबै गर्नु पर्नेछ ।’

सबस्टेसन उद्घाटनपछि कोशी प्रदेशमा रहेका उद्योग तथा व्यवसायीको उत्पादनमा ढुक्क हुने अवस्था आएको मुख्यमन्त्री कार्कीले बताए ।

निजी क्षेत्रलाई उत्पादनमा अग्र स्थानमा राख्न सकिएमा विकासको गति बढ्ने उनको भनाइ छ ।

संघीय सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको सबस्टेसनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत उपस्थित थिए ।

प्रकाशित मिति : २०८०, ६ पुस शुक्रबार ००:००  ६ : २५ बजे