२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपप्रधानमन्त्री उपेन्द्रले सत्ता छाडे



उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । उपप्रधानमन्त्री यादवले सोमबार प्रधानमन्त्रीलाई पत्र लेख्दै राजीनामा दिएका हुन् । जनता समाजवादी पार्टी, नेपालका अध्यक्षसमेत रहेका यादवले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्य गर्न नसकिने बताएका छन् ।

केही दिनअघि यादव विदेश भ्रमणमै रहेका बेला जसपा, नेपाल विभाजित भएको थियो । विभाजनपछि बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसमेत सरकारमा रहेको छ ।

त्यस्तै एमाले र माओवादीले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि नैतिक रूपमा संकटमा परेका यादवले सोमबार राजीनामा दिएका हुन् । यादवसँगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले समेत पदबाट राजीनामा दिएका छन् ।

अध्यक्ष यादवले यसअघि बुधबार पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा पार्टी विभाजनबारे आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

१२ सांसद भएको जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव विदेशमा रहेका बेला आइतबार विभाजित भएको हो । सात सांसदसहित अशोक राई नेतृत्वको जसपालाई सोमबार निर्वाचन आयोगले दलको मान्यता दिइसकेको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादव अब संसद्मा पाँच सिटको नेतृत्व गर्ने दलको नेतामा सीमित भएका छन् ।

केही समयअघि मात्रै जसपा नेपालबाट बाबुराम भट्टराई नेतृत्वको समूह अलग्गिएको थियो । त्यसअघि महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारीसहितका नेताहरू अलग्गिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनाए । महतोले त लोसपाबाट अलग्गिएर छुट्टै मोर्चा सञ्चालन गरेका छन् ।

प्रकाशित मिति : २०८१, ३१ बैशाख सोमबार ००:००  २ : ०६ बजे