२०८२, ६ फाल्गुन बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिलोत्तमामा ४० लाख लगातको सूचना प्रविधि उद्यान



रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरको प्रशासनिक भवन परिसरमा सूचना प्रविधि तथा राष्ट्रिय झण्डा उद्यान निर्माण गरेको छ ।  नगरपालिकाको ४० लाख रुपैयाँ आन्तरिक स्रोतबाट निर्माण भएको उद्यानको पूर्व अर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले मंगलबार उद्घाटन गरे ।

सो अवसरमा बोल्दै पौडेलले अहिलेको युग सूचना प्रविधिको युग भएको चर्चा गर्दै यसको प्रयोगको पहुँच आम नागरिकसम्म पुर्‍याउन स्थानीय तहले लगानी गर्नुपर्ने बताए । उनले भने, ‘सूचना प्रविधिमा फड्को मारेका देशहरूले छिटो आर्थिक विकास र समृद्धि हासिल गरेको छन् ।’

नगरको मुख्य प्रशासनिक भवन परिसरमा राष्ट्रिय झण्डा सहितको उद्यानले राष्ट्रियताको प्रवद्र्धन गर्ने र नागरिकलाई सूचना प्रविधिमैत्री बनाउन प्रेरित गर्ने पौडेलले बताए ।

नगरपालिकाका प्रमुख रामकृष्ण खाणले चुनावी घोषणापत्र अनुसार नगरलाई स्मार्ट र सूचना प्रविधिमैत्री बनाउन आईटी उद्यान निर्माण गरेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिकाको ४० लाख आन्तरिक स्रोतबाट बनेको उद्यानमा राष्ट्रिय झण्डा, एलईडी बोर्ड र नगर भित्रका धार्मिक र सांस्कृतिक सम्पदा झल्किने गरी कम्पाउन्डवालको भित्री भागमा पेन्टिङ गरिएको जानकारी दिए ।

उक्त एलईडी बोर्डमा क्रिकेट, फुटबल लगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टिमले खेल्ने खेलको प्रत्यक्ष प्रसारण गरिने उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन् ।

प्रकाशित मिति : २०८१, २२ जेठ मंगलबार ००:००  ९ : ४४ बजे