२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनमतका सतिष सिंह मधेशको मुख्यमन्त्री बन्दै



मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीबाट सतिष सिंह सिफारिस भएका छन्। जनमत पार्टीको बैठकबाट मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिष सिंहलाई सिफारिश गरिएको जनमत पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री बसन्त कुशवाहाले जानकारी दिए।

सिंह जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके राउत)को क्षेत्रबाट प्रत्यक्ष निर्वाचनमा विजयी भएका सांसद हुन्। जनमतको बैठकबाट सर्वसम्मत रुपमा सतिष सिंहको नाम सिफारिश गरिएको जनाएको छ।

सप्तरी क्षेत्र नम्बर २ को (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित सिंह मधेशको मुख्यमन्त्री बन्न लागेका हुन्। त्यस्तै सप्तरीबाटै समानुपातिक सांसद रहेकी रंजु कुमारी मण्डल खंगलाई तत्काल बिनाविभागीय राज्यमन्त्रीको जिम्मेवारी दिन लागिएको हो ।

बुधबार प्रदेश सभामा जनता समाजवादी पार्टी नेपालबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ मुख्यमन्त्रीका लागि शुक्रबार बिहान १० बजेसम्म दाबी पेश गर्न आह्वान गरेकी थिइन्।

जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार गठनका लागि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमत पार्टीसहित चार दलबीच नयाँ सरकार गठनका लागि सहमति भइसकेको थियो।

बुधबार मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्न नसकेपछि दलहरूले नयाँ सरकार गठनको तयारीलाई तीव्रता दिएको हो।

प्रकाशित मिति : २०८१, २४ जेठ बिहीबार ००:००  ३ : ५९ बजे