२०८१, १२ असार मंगलबार | Tue Jun 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘एनजीओको खाजा’ले रामहरिलाई तनाव, राज्य व्यवस्था समितिको बैठक स्थगित



प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘एनजीओको खाजा’ले विवाद निम्त्याउँदा स्थगित भएको छ । समितिको बैठक आइतबार बिहान ८ बजेका लागि बोलाइएको थियो । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्ने बैठकको कार्यसूची थियो ।

बैठकका लागि समितिको बैठक कक्षमा पुगेका सांसदहरू चकित भए, जब उनीहरूले खाजाका लागि गरिएको विशेष व्यवस्था देखे । टेबलको नेप्किन, काँटा र चम्चाले नै नियमितभन्दा फरक खाजाको व्यवस्था गरिएको प्रष्ट भइसकेको थियो ।

बैठक कक्षमा रहेका सांसदहरूले खाजाको स्रोतबारे समितिका सभापति रामहरि खतिवडासमक्ष जिज्ञासा राखे । तर उनले प्रष्ट जवाफ दिएनन् । तर यतिञ्जेल केही सांसदहरूले खाजा खाइसकेका थिए ।

तर समितिमा एउटा एनजीओको प्रतिनिधिहरू पनि रहेको र उनीहरूले नै खाजाको प्रायोजन गरेको खुलिहाल्यो । उनीहरूले नै होटलमा कार्यक्रम गर्नुभन्दा समितिमै गर्नु उचित ठानेको र खाजालाई अन्यथा नलिन आग्रह गरेको समितिका एक जना सदस्यले बताए ।

तर सांसदहरूले एनजीओको खाजा खाएर छलफल गर्दा राम्रो सन्देश नजाने भन्दै समिति सभापति खतिवडालाई थप प्रश्नहरू उठाएका थिए ।

उता समितिमा सहभागी भएका गृहमन्त्री रवि लामिछाने पनि एनजीओको खाजा खाएर छलफलमा सहभागी हुन राम्रो नभएको भन्दै बाहिरिएका थिए । गृहमन्त्री नै बाहिरिएपछि समितिको बैठक अगाडि बढ्न सकेन । स्थगित भयो ।

समिति सभापति खतिवडाले आफूले राज्य व्यवस्थाको सचिवलाई सोधेको र उनले (एनजीओबाट) खाजाको व्यवस्था गरिएको हो भनेर जानकारी पाएको बताए । ‘त्यसपछि हामीले एनजीओलाई ब्वायकट ग¥यौँ’, आइतबार संसद् भवन परिसरमा खतिवडाले पत्रकारहरूसँग भने ।

उनले पनि कतिपयले खाजा खाइसकेपछि एनजीओले (प्रायोजन) गरेको हो कि क्या हो भन्ने कुरा उठेको र दुई जना एनजीओकर्मीहरू पनि त्यहाँ देखापरेको बताए ।

‘हामीले कुनै पनि एनजीओलाई राज्य व्यवस्थाको मिटिङमा राख्दैनौँ भनेर भन्यौँ’, खतिवडाले भने ।

खतिवडाले विवादबाट पार पाउन घटनालाई सामान्य रुपमा लिएको देखाएपनि उनी आजको यो घटनाले तनावमा छन् । आफ्नो कार्यशैलीको विषयमा आलोचना हुने पूर्वानुमान गरेर खतिवडाले आजै संसदमा अन्य विषयमा आवाज उठाए ।

प्रकाशित मिति : २०८१, ३ असार आइतबार ००:००  ४ : १२ बजे