२०८१, २ माघ बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगाको लिखुमा घन्कीयो बेठीबाजा, परम्परा संरक्षण र खेती प्रवर्द्धनमा जोड



ओखलढुंगाको लिखु गाउँपालिकाका किसानले बाजागाजा सहित रोपाइँ गरेका छन् । लोपोन्मुख अवस्थामा रहेको बेठी परम्परा जोगाउन गाउँपालिकाको अगुवाइमा किसानले एकै ठाउँ भेला भएर नौमती बाजाका तालमा कादो रोपाइँ गरेका हुन् ।

पुर्खादेखि चल्दै आएको चलनलाई जीवन्त राख्न र किसानलाई कृषि पेशामा आकर्षित गर्न बेठी परम्परालाई संरक्षण गर्ने प्रयास गरिएको गाउँपालिका अध्यक्ष अशोक कार्कीको भनाई छ ।

नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारहरु रमाउँदै खेती गर्ने बेठी परम्परा अहिले लोप हुन थालेको छ ।

सहरिया नयाँ पुस्तालाई ‘बेठी’ शब्द नै आश्चर्यको विषय बन्न सक्छ । तर नेपाली समाजमा बेठी लगाएर धान रोप्ने चलन निकै पुरानो मानिन्छ । ग्रामीण भेगका गाउँबस्तीमा असारे भाका गाउँदै रोपाइँ गर्ने चलन पछिल्लो समय लोप हुन थालेको छ । नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारको दोहोरीसहितको धान रोपाइँ बेठी परम्परा किसानको संस्कृति अब स्मृतिमा सीमित हुँदै जान थालेको छ ।

बेठी युवापुस्ताका लागि अत्यन्तै नौलो र रोचक दृश्य बन्न थालेको छ ।

वर्षौँअघिदेखि चल्दै आएको बेठी रोपाइँको चलन अहिले एका देशको कथाजस्तो बन्न् थालेको छ ।

मानव जीवन र हिलो माटोबीचको अन्योन्याश्रित सम्बन्धको प्रतीकसमेत बन्दै आएका किसानले माटोको टीका थाप्नुपर्ने बेठीमा दर्जी समुदायले बाजा बजाउने र श्रमिकले आ–आफ्नो भूमिकाअनुसारको खेतमा काम गर्नुपर्ने पुरानो चलन छ ।

देशमा भूमिसम्बन्धी जिम्मावाल व्यवस्था कायम रहुञ्जेलसम्म जिम्मावालको सान र रवाफको पर्याय बन्दै आएको बेठी परम्परा विसं २०२१ मा लागू भएको भूमिसुधार कार्यक्रमपछि गाउँ समाजमा सामाजिक प्रतिष्ठाका रूपमा हुनेखाने वा गाउँका धनीमानी वा मुखियाहरुकै प्रतिष्ठा वृद्धिको माध्यमका रूपमा चल्दै आएको थियो ।

नौमती बाजाको तालमा रौसिँदै, असारे गीतको भाका हाल्दै, जोतेको हिलो माटोलाई लेदो बनाउन दाँदे लाउने, हिलो सम्याउने बाउसे, कोही पानीको मात्रा मिलाउने, कोही ब्याडमा बीउ काढ्ने, कसैले गरागरामा बीउका मुठा ओसारिदिने, रोपाहारले आपसमा उछिन र पाछिन गर्दै लहर मिलाएर बीउ रोपेको दृश्य निकै रोमाञ्चक हुन्छ । सिमेभूमेको पूजा, ठूलो गरामा धान धेरै फलोस् भन्ने कामनासहित भकारी बाँधेर नाचसहित आपसमा हिलो छ्यापाछ्याप गर्दा दिनभरिको सबै थकान मेटिन्छ ।

रोपाइँ सकेपछि भोज खाने चलन रहेकाले यसलाई किसानले पछिल्लो समय पर्वका रूपमा मनाउन थाले । बेठीको दिन आफ्ना चेलीबेटीलाई समेत बोलाएर रोपाइँ गर्ने चलन छ । नौमती बाजा, दर्जनौँ हलगोरु, सयौँ रोपाहार र बाउसेहरुले एकै दिन रोपाइँ गरेर उनीहरुले यसलाई पर्वका रूपमा मनाउने गरेका थिए ।

अरुबेला गरिएको रोपाइँमा खेताला पर्म र बोलाइएकाहरुलाई पैसा दिनुपर्ने भए पनि बेठीमा आएकाहरुको पर्म तिर्नु पर्दैन तर रोपाइँ सकिएपछि माटोको टीका र धानको बीउको फूल लगाएर रोपाहार र चेलीबेटीलाई दक्षिणास्वरुप पैसा दिने चलन छ । बेठी परम्परा विगतमा जुन हिसाबले थालनी गरिए पनि लोपोन्मुख संस्कृति भएकाले यसको संरक्षण गर्नु किसानको मात्र नभएर सरकारको समेत कर्तव्य भएको सरोकारवालाको भनाइ छ ।

नेपाली समाजमा यो चलन कहिले शुरु भयो कसैले यकिनसाथ भन्न सक्तैन । जे जसरी शुरु भए पनि पहिलेको समाजमा मुखिया वा जमीनदारहरुले बेठी लगाउने दिन भनेपछि उसको समाजका सबैले आफ्नो परिवारबाट एक जना श्रमिक पठाउने गर्दथे । तत्कालीन समाजमा बेठीमा आएका श्रमिकलाई ज्याला दिइँदैनथ्यो । न पर्म नै तिरिन्थ्यो । जिम्मावाल वा मुखिया प्रथामा आएको परिवर्तनसँगै बेठी परम्परामा समेत आएको परिवर्तनले श्रमिकहरुलाई ज्याला दिने चलन बसेको थियो । सामाजिक परिवर्तनको लहर वा मानिसहरुको दृष्टिकोण र बानी व्यवहारमा आएको परिवर्तनले बेठी परम्पराको अस्तित्व लोप हुनपुगेको छ ।

आजभोलि गाउँघरतिर पहिलेको जस्तो खेतीपातीको काममा आकर्षण छैन । पछिल्लो समय ग्रामीण भेगका युवापुस्ता शहर केन्द्रित श्रम, वैदेशिक रोजगारी र कृषि कार्यमा अपेक्षित ज्याला नपाइने भएकाले खेतीपाती छाड्ने गरेका छन् ।

यद्यपी लिखु गाउँपालिकाले झैं बेठीबाजा परम्पराको संरक्षण र प्रवद्र्धन गर्दै खेतीमा युवाको आकर्षण बढाएर किसानलाई कृषि मार्फत नै आत्मनिर्भर बनाउन सके नेपाली किसानको  पुरानो परम्परा संरक्षण हुनेछ ।

प्रकाशित मिति : २०८१, २४ श्रावण बिहीबार ००:००  ४ : ३६ बजे