२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजको उम्मेदवार होइन, भोलिको नेता किन बने बाबुराम आचार्य ?



नैतिकता र इमानदारिताको अभाव देखिँदै गएको नेपाली राजनीतिमा पद र सम्भावनालाई त्यागेर पार्टी र सिद्धान्तलाई प्राथमिकता दिने नेता बिरलै भेटिन्छन्। यही सन्दर्भमा नेपाली काँग्रेसका युवा नेता बाबुराम आचार्य ले आफ्नो राजनीतिक परिपक्वता र त्यागमार्फत ‘आजको उम्मेदवार होइन, भोलिको नेता’ को पहिचान बनाएका छन्।

काठमाडौँ–१ बाट प्रतिनिधिसभा सदस्य बन्न सक्ने बलियो सम्भावना हुँदाहुँदै पनि आचार्यले पार्टीको एकतालाई प्राथमिकता दिँदै आफ्नो उम्मेदवारी फिर्ता लिए। पार्टीलाई जिताउन आफू पछि हट्ने निर्णय उनको राजनीतिक यात्राको महत्त्वपूर्ण मोड बनेको छ।

केही समययता काठमाडौँ–१ बाट आचार्य राष्ट्रिय स्तरमै चर्चामा थिए। नेपाली काँग्रेसका संस्थापक नेता गणेशमान सिंहका पुत्र तथा चार पटक सांसद भइसकेका प्रकाशमान सिंहसँग प्रतिस्पर्धा गर्दै प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएपछि उनी चर्चाको केन्द्रमा आएका थिए। सामाजिक सञ्जालदेखि राष्ट्रिय मिडियासम्म, चिया पसलदेखि स्थानीय मतदातासम्म आचार्यको चर्चा व्यापक बनेको थियो।

स्थानीय नेता-कार्यकर्ता र सर्वसाधारणले आचार्यलाई टिकट दिनुपर्ने माग तीव्र बनेको थियो। केही विरोध भए पनि तुलनात्मक रूपमा युवा पुस्तासँग संवाद गर्न सक्ने, स्वार्थरहित राजनीति गर्ने र जित सुनिश्चित गर्न सक्ने उम्मेदवारको रूपमा उनीमाथि विश्वास देखिन्थ्यो। स्थानीय मतदाता सुमन शर्मा पोखरेल भन्छन्, “आचार्यले टिकट पाएको भए अत्यधिक मतले जित्ने आकलन थियो।” काँग्रेस कार्यकर्ता माधव कोइरालाका अनुसार, “उहाँले टिकट पाउनुपर्थ्यो, जित सुनिश्चित थियो, तर त्याग गर्नुभयो—यो कुरा इतिहासले सम्झनेछ।”

तर काँग्रेसको आन्तरिक राजनीतिक उतारचढाव र विशेष महाधिवेशनपछि परिस्थिति फेरियो। प्रकाशमान सिंह र बाबुराम आचार्य दुवैले टिकट पाएनन्। यसले कार्यकर्तामा निराशा पैदा गर्‍यो। टिकट नपाएपछि आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका थिए। तर पार्टी नेतृत्व, क्षेत्रीय तहका नेता-कार्यकर्ता, महासमिति सदस्यदेखि केन्द्रीय नेताहरूको आग्रह र संवादपछि उनले पार्टी एकताका लागि स्वतन्त्र उम्मेदवारी फिर्ता लिने निर्णय गरे।

पार्टी सभापति गगन कुमार थापा, महामन्त्री गुरुराज घिमिरेलगायत शीर्ष नेताहरूसँगको छलफलपछि उम्मेदवारी फिर्ता लिएको जानकारी आचार्यले सार्वजनिक गरेका थिए। उनका अनुसार आफू व्यक्तिका लागि होइन, पार्टी र देशका लागि पछि हटेको निर्णय हो।

“मैले स्वतन्त्रबाट पनि जित्न सक्थेँ, तर पार्टीलाई जिताउनु मेरो प्राथमिकता हो,” आचार्य भन्छन्, “समुन्नत नेपाल, सम्मानित नेपाली’ को सपना बोकेर अघि बढ्दा व्यक्तिभन्दा पार्टी ठूलो हुन्छ।”

२५ वर्षदेखि काँग्रेसको सक्रिय राजनीतिमा रहेका आचार्य पूर्व प्रधानमन्त्री सुशील कोइरालासँग नजिक भएर काम गरिसकेका अनुभवी नेता हुन्। सुशील कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको त्यागबाट प्रेरित भएको उनी बताउँछन्।

युवाहरू नेतृत्वमा अगाडि बढ्दै गरेको वर्तमान सन्दर्भमा आचार्यको त्यागलाई सकारात्मक रूपमा हेरिएको छ। काँग्रेसका युवा नेता सरोज राना मगर भन्छन्, “पार्टीप्रति देखाएको त्यागको काँग्रेसले सम्मान गर्ने अपेक्षा छ।”

पत्रकारिता र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका अध्ययनशील स्वभावका आचार्य सामाजिक क्षेत्रमा पनि सक्रिय छन्। उनका सचिवालय सदस्य अमृत आचार्यका अनुसार, “बाबुराम आचार्यले गरेको त्याग इतिहासले सम्झनेछ, अब पार्टीले उहाँलाई भावी दिनमा कस्तो जिम्मेवारी दिन्छ भन्ने मात्र हेर्न बाँकी छ।”

पदभन्दा सिद्धान्त, जितभन्दा एकतालाई प्राथमिकता दिँदै बाबुराम आचार्यले देखाएको त्यागले नेपाली राजनीतिमा सकारात्मक सन्देश दिएको छ-नेतृत्व चुनावबाट मात्रै होइन, चरित्र र निर्णयबाट पनि निर्माण हुन्छ।

प्रकाशित मिति : २०८२, १६ माघ बिहीबार ००:००  ४ : ५५ बजे