२०८१, २ माघ बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

८ वर्षमा विद्युत प्राधिकरण ८२ अर्ब नाफामा



नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ८ वर्षमा विद्युत प्राधिकरण ८२ अर्ब नाफामा रहेको बताए। शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो दोस्रो कार्यकालको तेस्रो वर्ष पूरा भएको अवसर पारी प्राधिकरणले गरेका उपलब्धिहरु सार्वजनिक गर्दै यस्तो बताएका हुन्।

‘८२ अर्ब नाफा यतिकै आएको होइन, महालेखा परीक्षक ले अडिट गरेर निकालेको हो,’ उनले भने, ‘८ वर्ष अगाडि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ।’


गत आर्थिक वर्ष २०८०/८१ मा मात्र खुद नाफा १३ अर्ब ३१ करोड रुपैयाँ रहेको बताए। आर्थिक वर्ष २०७३/०७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको प्राधिकरण त्यसयता निरन्तर नाफामा गएको उनको भनाइ छ।

‘महशुल बढाएर नाफा भएको होइन। यसबीचमा तीन पटक गरी २५ प्रतिशत विद्युत् महसुल घटाइएको छ,’ उनले भने। अहिले प्राधिकरणका ५९ लाख ग्राहक पुगेका छन्। यसमध्ये २२ लाख ग्राहकले न्यूनतम शुल्क ३० रुपैयाँ मात्र कायम गरी निःशुल्क विद्युत् उपलब्ध गराइएको बताए।

यस्तै सिँचाइका लागि प्रतियुनिट २ रुपैयाँमा विद्युत् उपलब्ध गराइएको उनको भनाई छ। लिफ्टिङ खानेपानीमा डिमान्ड शुल्क नलाग्ने र इनर्जी शुल्कमा सहुलियत दिइएको, विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनमा पनि सहुलियतपूर्ण महसुल दर कायम गरिएको बताए।

दोस्रो कार्यकालमा आफ्नो कार्य सम्पादन मूल्यांकनका आधारमा आर्थिक वर्ष २०७८÷७९ मा ९४.२३ प्रतिशत, आर्थिक वर्ष २०७९/०८०मा ९८.९४ प्रतिशत अंक प्राप्त भएको र गत आर्थिक वर्ष २०८०/०८१ को कामको मूल्याङ्कन अघि बढ्दै गरेको जानकारी दिए।

यस्तै ८ वर्ष अगाडि २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र रहेकोमा अहिले ९९ प्रतिशत पुगेको उनले जानकारी दिए। ८ वर्ष अगाडि २९ लाख ७० हजार ग्राहक रहेकोमा अहिले ५९ लाख ३५ हजार पुगेको हो। सो बेला ३ अर्ब ७२ करोड युनिट विद्युत् खपत हुने गरेकोमा अहिले १०अर्ब २३ करोड युनिट पुगेको समेत उनले बताए।

नेपाल सरकारले घिसिङलाई २०७८ साउन २५ गते प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि दोस्रो पटक नियुक्त गरेको थियो। आज उनको दोस्रो कार्यकालको तेस्रो वर्ष पूरा भएको छ भने अब १ वर्ष उनको कार्यअवधि बाँकी रहेको छ।

प्रकाशित मिति : २०८१, २५ श्रावण शुक्रबार ००:००  ५ : ०२ बजे