बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले राज्यसँगै नागरिक पनि जिम्मेवार बन्नुपर्ने बताएका छन् । पारदर्शिता र सुशासन अहिलेको आवश्यकता भएको बताउँदै सबै पक्ष जिम्मेवार नबन्दा अहिले समस्या देखिएको उनले बताएका हुन् ।
हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१-८२ मा विभिन्न शीर्षकमा करका दर बढाएपछि आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीको ध्यानाकर्षणपत्र बुझ्दै मुख्यमन्त्री लामाले उद्योगी, व्यवसायीसँगै सबै नागरिकपारदर्शी हुनुपर्नेमा जोड दिए ।
उनले सरकारले कर सङ्कलनसँगै उद्योगी व्यवसायीलाई उद्योग व्यवस्था गर्ने वातावरण र सुरक्षाको प्रत्याभूतिसमेत दिनु दायित्व भएको भन्दै लगानीको सुरक्षाको वातावरण निर्माण नहुँदा पलायन हुने अवस्था आउने बताए ।
उद्योगी व्यवसायीको करलगायतका समस्याबारे स्थानीय तहसँग संवाद गरिने मुख्यमन्त्री लामाले बताए ।
बजेट सुनिश्चत नहुँदै निर्माणका कामका लागि बोलपत्र आह्वान हुने र काममा लगाउँदा विगतमा प्रदेशमा समस्या भएको बताउँदै आफू आर्थिक मामिला तथा कानुनमन्त्री हुँदा बजेट सुनिश्चित गरेर मात्र ठेक्का लगाउने प्रथाको सुरुवात र निर्माण व्यवसायीको भुक्तानीको व्यवस्था गरिएकाले गत आवमा पुँजीगत खर्चमा सुधार आएको दाबी गरेका छन् ।
हेटौँडा उपमहानगरपालिकाले आर्थिक मन्दीको समयमा व्यवसाय करलगायतका कर १५० प्रतिशतसम्म वृद्धि गरेको भन्दै उद्योगी व्यवसायी आन्दोलित छन् ।