२०८१, २३ भाद्र आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिकामै पुस्तकालय स्थापना



स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको प्रशासकीय भवनभित्रै पुस्तकालय स्थापना गरिएको छ। विश्व हिन्दु युवा संघले गाउँपालिकाको व्यवस्थापन तथा सहयोगमा पुस्तकालय स्थापना गरेको हो।

विशेषगरी धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले संस्कृत भाषाका पुस्तकसहित अन्य पुस्तक पुस्तकालयमा राखिएको विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले बताए।

‘धर्म, संस्कार, संस्कृतिको संरक्षणसँगै यसको प्रचारप्रसार गर्ने, यसको महत्त्वबारे सर्वसाधारणलाई सुसूचित गराउनुपर्ने आवश्यकता ठानेका छौँ,’ उनले भने, ‘विशेषगरी युवापुस्तालाई धर्म, संस्कार, संस्कृति तथा इतिहासबारे जानकारी गराउन सके संस्कार–संस्कृतिको संरक्षणमा ठूलो टेवा पुग्नेछ ।’

पुस्तकालयमा धर्म, संस्कार, संस्कृति, इतिहास, साहित्य तथा अंग्रेजी माध्यमका विभिन्न सात सय पुस्तक राखिएका छन् । पुस्तकालयमा पुगेका जुनसुकै पाठकले पनि आफूलाई अनुकूल हुने खालका पुस्तक पढ्न पाउनेछन्।

गाउँपालिकाले विश्व हिन्दु युवा संघसँगको सहकार्यमा गाउँपालिका कार्यालयमा पुस्तकालय स्थापना गरी सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए।

पुस्तकालय सञ्चालन तथा व्यवस्थापन गाउँपालिकाले गरेको छ । ‘पुस्तकालयमा सबै प्रकारका पाठकको रुचिका पुस्तक राखेका छौँ,’ उनले भने, ‘आगामी दिनमा थप महत्त्वपूर्ण र बहुउपयोगी हुने पुस्तक थप गर्दै जानेछौँ ।’

गाउँपालिकामा सेवा लिन आउने सेवाग्राहीले फुर्सदको समयमा आफूलाई रुचि भएका पुस्तक पढ्न पाउने र पढ्ने बानीको विकास गर्नका लागि पनि कार्यालय परिसरभित्रै पुस्तकालय स्थापना गरिएको उनले बताए। कार्यालय खुलेका दिनमा कार्यालय अवधिभर पुस्तकालय खुला हुनेछ।

पछिल्लो समय संस्कार, संस्कृति तथा नैतिक शिक्षाको खडेरी पर्दै जाँदा यसको संरक्षण, संवर्द्धन र पछिल्लो पुस्तालाई संस्कारयुक्त बनाउन संस्कार शिक्षा पढाउन थालेको पालिकाले नागरिकलाई सुसूचित बनाउनका लागि पनि पुस्तकालयले सहयोग पुग्ने उनले बताए। (रासस)

प्रकाशित मिति : २०८१, ४ भाद्र मंगलबार ००:००  ४ : ३५ बजे