२०८१, ३ आश्विन बिहीबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा कार्यकर्ता उतारेर राष्ट्रिय भेला गर्दै रास्वपा



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय भेलाको तयारी पूरा भएको बताएको छ।

यही असोज १ र २ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा राष्ट्रिय भेला हुँदैछ।

बिहीबार पार्टी कार्यालय चःमतिमा पत्रकार सम्मेलन गर्दै रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले राष्ट्रिय भेलामा करिब १५ सय जना प्रतिनिधि सहभागी रहने बताए।

उनकाअनुसार भेलामा गाउँपालिका, नगरपालिका तहका कमिटी, जिल्ला कमिटी, प्रदेशको कार्यसमित, विभाग, आयोगहरूबाट प्रतिनिधित्व रहनेछ।

केन्द्रीय समिति, विभाग र आयोग गरी कुल दुई हजार जना प्रतिनिधि रहनेमा असोज १ गते चाडपर्वसमेत परेकाले प्रतिनिधि संख्या १५ सय हाराहारी हुने छ ।

राष्ट्रिय भेलाका लागि १५ वटा उपसमिति छन्। भेलामा राजनीतिक प्रतिवेदनका अतिरिक्त विधान संशोधन प्रस्ताव पनि पेस हुनेछ।

यसका अतिरिक्त सातै प्रदेशले आफ्ना कामका विवरण समेटेर तयार पारेको प्रतिवेदन पनि भेलामा पेश गर्ने तयारी रहेको उनले बताए।

गत साउनमा भएको बन्द कार्यशालाले असोज ३ र ४ गते राष्ट्रिय भेला गर्न सुझाव दिएको थियो। कार्यशालाको सुझावअनुसार नै अलिकति मिति वर सारेर भेला गर्न लागिएको बुर्लाकोटीले बताए।

रास्वपाले आगामी २०८२ वैशाख तेस्रो साता पहिलो महाधिवेशन गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : २०८१, २७ भाद्र बिहीबार ००:००  ९ : १९ बजे