२०८१, १२ आश्विन शनिबार | Sat Sep 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज पनि निरन्तर झरी पर्ने, जनजीवन अस्तव्यस्त



आज शनिबारको दिन पनि निरन्तर झरी पर्ने मौसमविदले बताएका छन् । मौसमविदहरुका अनुसार वर्षा गराउने प्रणाली बागमती र गण्डकी प्रदेश आसपास केन्द्रित भएको छ । त्यसैले आज दिनभर नै निरन्तर झरी पर्ने छ ।

केही दिनदेखिको अविरल वर्षाले जनधनको क्षति हुने जोखिम भएकाले सतर्क रहन र सुरक्षित स्थानमा बस्न मौसमविदले सुझाव दिएका छन् ।

नेपालमा मनसुनी वायु कायमै रहेकाबेला बंगालको खाडीबाट पनि थपिएको जलवाष्पयुक्त वायुले गर्दा अहिले मनसुन अत्यधिक सक्रिय भएको छ । देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या छ ।

काठमाडौं उपत्यकाका बस्तीसमेत जलमग्न छन् । नदी किनारका बस्ती झन् बढी प्रभावित भएका छन् । राजमार्गहरु अवरुद्ध भएका छन् । सडकसँगै हवाई सेवा पनि प्रभावित भएको छ ।

नागढुंगामा खसेको पहिरो हटाउन नसक्दा सयौं यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । गाडीहरुको लामो लाइन लागेको छ । उर्लिएको त्रिशूली नदी किनारमा रोकिन बाध्य भएकाहरु त्रासमा छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यो समाचार तयार पर्दासम्म १७ स्थानका बाढी मापन केन्द्रमा बाढीको सतह खतराको लेभलसम्म पुगेको छ ।

अरु त्यति नै संख्याका बाढी मापन केन्द्रमा बाढीको सतह खतराको संकेत पुग्दै छ । त्यसैले खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।

पाल्पाको अर्चलेमा सबैभन्दा बढी वर्षा भएको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ २४ घण्टाको अवधिमा ३६३ मिलिमिटर वर्षा भएको छ ।

त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिपर बगाएको छ ।

प्रकाशित मिति : २०८१, १२ आश्विन शनिबार ००:००  ९ : ४० बजे