२०८१, १९ आश्विन शनिबार | Sat Oct 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामेछापबाट-काठमाडौं वैकल्पिक मार्ग खुल्यो



मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाडौँसम्मको आवागमन खुलेको छ।

गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण गएको बाढीले किर्नेटार हाइड्रोपावर नजिक तामाकोशी नदीले कटान गरेको थियो।

पाँच दिनपछि अस्थायी रूपमा किर्नेटारमा रहेको खिम्ती प्रोजेक्ट स्कुलको बीच भाग हुँदै नेपाली सेनाको क्याम्प क्षेत्रको भित्री भागबाट ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याइएको हो।

रामेछापको मन्थलीबाट दोलाखाको किर्नेटार–चरिकोट–मुडे हुँदै सिन्धुपाल्चोकको खाडीचौर हुँदै काठमाडौँ आवतजावत गर्ने गरि वैकल्पिक मार्ग खुलाइएकाे मन्थली नगरपालिकाका मेयर लब श्रेष्ठले बताए । सडक खुलाउन जिल्लाका सबै राजनीतिक दल, सङ्घीय र प्रदेशका पूर्व तथा वर्तमान सभा सदस्य, स्थानीय प्रशासन, स्थानीय तह, समाजसेवीलगायत सबैको पहल थियाे ।

वर्षाका कारण सुनकोशीको बाढीले सिन्धुलीको खुर्कोटस्थित पुल बगाएपछि र दोलखाको किर्नेटारको बाटो तामाकोशीले कटान गरेपछि मन्थली–काठमाडौँ आवागमन शनिबारदेखि अवरुद्ध थियो।

सडकमार्ग खुलेपछि दसैँका लागि जिल्ला भित्रिने मानिस र खाद्यान्नलगायत अन्य सामग्रीका लागि सहज भएको छ।

यसअघि खुर्कोटको पुल निर्माण नहुँदा पनि रामेछापवासी यही बाटो भएर मन्थली–काठमाडौं आवतजावत गर्थे। काठमाडौँबाट नेपालथोक हुँदै खुर्कोटको पुल तरेर मन्थली जान एक सय २६ किमी पार गर्नुपर्थ्यो भने यस मार्गमार्फत यात्रा गर्दा मन्थली–काठमाडौंका लागि दुई सय किलोमिटर यात्रा गर्नुपर्छ।

प्रकाशित मिति : २०८१, १७ आश्विन बिहीबार ००:००  १० : ३४ बजे