२०८१, १ कार्तिक बिहीबार | Thu Oct 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरी समायोजन ऐन चाहियाे : मुख्यमन्त्री सिंह



मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीय सरकारले प्रहरी समायोजन ऐन जारी नगर्दा प्रदेश सरकारलाई प्रहरीको सञ्चालनमा समस्या आएको बताएका छन् । ‘साइबर सुरक्षा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ ६९औं प्रहरी दिवसका अवसरमा मधेस प्रहरी कार्यालय जनकपुरधाम, धनुषाद्वारा आज जनकपुरधाममा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले प्रहरी समायोजन ऐन जारी नहुँदा प्रदेश सरकार समस्यामा रहेको बताएका हुन् ।

उनले भने, ‘मधेस प्रदेशमा करिब ६२ लाख जनसंख्या रहेको छ । यहाँको सुरक्षामा प्रहरीले गरेको भूमिका महत्वपूर्ण रहेको छ तर हामीसँग ऐन छैन, नीतिगत रुपमा काम गर्न सक्दैनौं ।’ प्रदेशमा लागुऔषधको ओसारपसार, मानव तस्करी, राजस्व चुहावट तथा चोरी, डकैती, साइवर अपराध रोक्न प्रदेश सरकारका लागि ठूलो चुनौतीका रुपमा रहेकाले यसको नियन्त्रण तथा रोकथामका लागि प्रहरी सङ्गठनले कडा रुपमा लाग्नुपर्ने मुख्यमन्त्री सिंहले बताए ।

उनले प्रहरी समायोजनसम्बन्धी ऐन नआए पनि प्रदेश सरकार तथा स्थानीय निकायले नेपाल प्रहरी सङ्गठनलाई सक्दो सहयोग गरेको समेत जानकारी दिए ।

सोही अवसरमा मधेस प्रदेशका गृह, कानुन तथा सञ्चार मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवले सीमित साधनस्रोतका बाबजुद प्रहरी सङ्गठनले प्रदेशमा शान्ति सुरक्षा तथा सुशासन कायम गर्न खेलेको भूमिका अति महत्वपूर्ण रहेको बताए ।

उनले देशमा शान्ति सुरक्षा कार्यमा निरन्तर खट्ने प्रहरी सङ्गठनलाई राज्यबाट समयसापेक्ष आधुनिक संरचनामा लैजाने तथा समयसापेक्ष सहयोग आवश्यक रहको बताएका थिए ।

प्रकाशित मिति : २०८१, ३० आश्विन बुधबार ००:००  २ : ५७ बजे