२०८१, ६ मंसिर बिहीबार | Thu Nov 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगा जिसस प्रमुखमा १ जनाकाे मात्रै उम्मेदवारी दर्ता

मोलुङ ५ को वडाअध्यक्षमा ८ जनाको मनाेनयन



जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुख पदमा १ जनाको मात्रै उम्मेदवारी परेको छ । मंसिर १६ गते हुने उपनिर्वाचनमा जिसस प्रमुखमा कांग्रेस नेता टेकराज भट्राईको मात्रै उम्मेदवारी परेको हो ।

नेकपा एमालेले कांग्रेसलाई सघाउँदै आफ्नो उम्मेदवार नउठाएपछि कांग्रेसका नेता भट्राई सर्वसम्मत जिल्ला समन्वय समिति प्रमुख बन्नुभएको छ । यद्यपी निर्वाचनका कार्यक्रम अनुसार नै १६ गतेपछि निर्वाचित भएको औपचारिक घोषणा हुनेछ ।

एकल उम्मेदवारी परेपनि निर्वाचन कार्यक्रम अनुसार प्रकृया पुरा गरिने निर्वाचन अधिकृत तथा निमित्त जिल्ला निर्वाचन अधिकारी बिदुर बस्नेतले जानकारी दिए ।

डेढवर्ष अघि तत्कालिन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको मृत्यु भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

जिल्लाका ८ स्थानीय तहका १६ प्रमुख उपप्रमुख मध्ये कांग्रेसको तर्फबाट ५ पालिका प्रमुख र ४ उपप्रमुख गरी ९ जनाले जितेका छन् । एमालेले १ पालिका अध्यक्ष, ४ उपसहित ५, माओवादीले १ अध्यक्ष र जसपाले १ अध्यक्ष जितेका छन् ।

जिससका मतदाता नै पालिका प्रमुख उपप्रमुख मात्रै हुने भएकाले कांग्रेसको एकल बहुमत छ ।

एमालेले उम्मेदवार नउठाएपछि कांग्रेस उम्मेदवार टेकराज भट्टराई सर्वसम्मत अबको अब साढे २ वर्ष जिसस प्रमुख बन्नेछन् । 

मोलुङ ५ मा वडाअध्यक्षका लागि ८ जनाको उम्मेदवारी

ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा वडा अध्यक्षकालागि ८ जनाको उम्मेदवारी परेको छ । विभिन्न राजनीति दलबाट ६ र २ स्वतन्त्रसहित ८ जनाको उम्मेदवारी दर्ता भएको हो ।

एमालेबाट गंगाबहादुर तामाङ, नेपाली कांग्रेसबाट घनश्याम दाहाल, नेकपा माओवादी केन्द्रबाट मानबहादुर सुनुवार, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिष्णुप्रसाद पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चन्द्रमणी दाहाल, जनता समाजवादी पार्टीबाट इन्द्रबहादुर दर्जीले उम्मेदवारी दिएका छन् ।

मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमका अनुसार हेमबहादुर सुनुवार र दिपप्रसाद दाहालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २०८१, २ मंसिर आइतबार ००:००  ७ : २६ बजे